काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी भइसक्दा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष आ-आफ्नै रणनीति बनाउन व्यस्त छन् ।
अन्तिम समयसम्म पनि संस्थापन पक्ष ५० प्रतिशत पुग्न नदिने उद्देश्यका साथ प्रतिनिधिलाई रोक्ने र हस्ताक्षर फिर्ता लिन लगाउने कसरतमा देखिएको छ भने विशेष महाधिवेशन पक्षधरहरु बहुमत जुटाउने प्रयत्न गरिरहेका छन् । यो स्थितिले भोलि कांग्रेसको दृश्य कस्तो होला, अझै पनि चित्र स्पष्ट भइसकेको छैन् ।
विशेष महाधिवेशनले नीति चयन गर्छ वा नेतृत्व परिवर्नत ? यो प्रश्रमा महामन्त्री गगन थापाले भन्दै आउनुभएको छ-सबै कुरा हलले तय गर्छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा दुबैले विशेष महाधिवेशनले के गर्छ भन्ने विषयमा शनिबार साँझसम्म प्रस्ट धारणा सार्वजानिक गरिसकेका छैनन् । यो कुरा देश-विदेशबाट भाग लिन आएका महाधिवेशन प्रतिनिधिमा भर पर्छ ।
भृकुटीमण्डपमा भेटिने महाधिवेशन प्रतिनिधिका साथै अन्य प्रतिनिधिहरु नीति परिवर्तन गर्ने र त्यो नीतिलाई कार्यान्वयन गर्नका लागि नेतृत्व परिवर्तन गर्नु पर्ने मत राखिरहेका छन् । विशेष महाधिवेशन पक्षधरहरु खासगरी दुई वटा रणनीतिमा देखिएका छन् । सभापति शेरबहादुर देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन समारोहमा पुगेर संस्थापन पक्षले स्वामित्व लिए नीति महाधविशेनका रुपमा बदल्ने र दस्तावेजीकरण गर्ने एउटा तयारी छ ।
संस्थापन पक्षले स्वामित्व नलिए पनि प्रतिनिधिको बहुमत जुटे नयाँ नेतृत्व चयन गरेर जाने अर्को तयारी छ । त्यसका लागि बहुमत जुटाउने प्रयत्न उनीहरु गरिरहेका छन । ५४ प्रतिशतले हस्ताक्षर गरे पनि त्यो हस्ताक्षर प्रमाणित होइन । पछिल्लो समय महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिने र थपिने क्रम जारी रहे पनि सहजै बहुमत पुग्ने दाबी यो पक्षले गरिरहेको छ ।
यता पुस १८ गते नै विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गरिसकेको संस्थापन पक्ष भने अन्तिम समयसम्म पनि सके ४० प्रतिशत, नसके कम्तिमा पनि ५० प्रतिशत पुग्नै नदिने कसरतमा छ । यसका लागि देशभरबाट आउने महाधिवेशन प्रतिनिधिलाई रोक्नेदेखि हस्ताक्षर फिर्ता लिन लगाउनेसम्मका रणनीति लिइएको छ ।
तर महाधिवेशन प्रतिनिधि र विशेष, जिल्ला, प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय सभापतिको समर्थन बढ्दै गएको भन्दै विशेष महाधिवेशन पक्षधर उत्साहित छ । राजनीतिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने, नीति निर्माण र विधान संशाेधनदेखि नेतृत्व चयनसम्मको तयारी उनीहरुको छ ।
अब नेपाली कांग्रेसको विशेष महाधिवेशन संकल्प प्रस्तावमै सीमित होला कि फुटतर्फ अघि बढ्ला, सभापति देउवा र संस्थापन पक्षको कदमले निर्धारण गर्नेछ । विधानअनुसार बोलाइएको विशेष महाधिवेशनको स्वामित्व संस्थापनले नलिए र प्रतिनिधिहरूको बहुमत जुटे नयाँ नेतृत्व चयनतर्फ अगाडि बढ्दा पार्टी विधिवत रूपमा विभाजन हुने र त्यसपछि आधिकारिकताको विवादमा फस्ने सम्भावना छ ।