रास्वपा र कुलमान संरक्षक रहेको उज्यालो नेपालबीचको एकता सहमति दुई सातामै भाँडियाे

पद बाँडफाँट र सैद्धान्तिक विषयमा कुरा नमिलेपछि दुई पार्टीबीचको एकताको सहमति भंग
पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा र कुलमान संरक्षक रहेको उज्यालो नेपालबीचको एकता सहमति दुई सातामै भाँडियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको एकता सहमति दुई सातामै भाँडिएको छ ।

पद बाँडफाँट र सैद्धान्तिक विषयमा कुरा नमिलेपछि दुई पार्टीबीचको एकताको सहमति भंग भएको हो । केही दिनदेखि नेतृत्व तहमै भएको छलफल टुंगोमा पुग्न नसकेपछि एकता भाँडिएको हो । रास्वपाका एक नेताले दुई पार्टीबीचको सहमति अन्त्य भएको पुष्टि गर्नुभएको हो । यही पुस १४ गते दुई पार्टीबीच एकता गर्ने सहमति भएको थियो । उक्त सहमतिमा घिसिङलाई रास्वपा उपसभापति बनाउने निर्णय भएको थियो ।

उज्यालो नेपालले राखेको उपसभापति र महामन्त्री पाउनुपर्ने, पार्टीको विचारधारा परिवर्तन गर्नुपर्ने, केन्द्रीय सदस्य थप गर्नुपर्नेलगायतका विषयमा सहमति हुन नसकेको हो । उज्यालो नेपालसँगको एकता अन्त्य हुने भएपछि रास्वपाको आकस्मिक सचिवालय बैठक बसिरहेको छ भने उज्यालो नेपालको पनि केन्द्रीय समितिको बैठक बसिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.