
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
शनिबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने पार्टी भएको बताउनु भयो । उहाँले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताउनु भयो ।
संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उहाँले बताउनु भयो । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त रहेको उहाँकाे भनाइ छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको उहाँले बताउनु भयो ।
अध्यक्ष ओलीले समाजमा भ्रम र द्विविधाको अवस्थामा रहेको भन्दै यसलाई सम्बोधन गर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबीच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरूरी रहेको बताउनु भयो ।