संविधान संशोधन नगरी चुनावमा जाँदा कांग्रेस कम्युनिष्टले देशमा लुट मचाइरहन्छ : उपेन्द्र यादव

पुस ७, २०८२ |विनय आजाद
संविधान संशोधन नगरी चुनावमा जाँदा कांग्रेस कम्युनिष्टले देशमा लुट मचाइरहन्छ : उपेन्द्र यादव

सिरहा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा जाँदा मुलुकले निकास नपाउने बताउनुभएकाे छ । 

सिरहाको गोलबजारमा सोमबार आयोजित डोटिम परिसंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनुभएकाे हाे । अहिलेको संविधान आफ्नै देशका जनतालाई गोली दागेर जबर्जस्ती जारी गरिएको, यसले मुलुकका सबै जनतालाई नसमेटेको र यसैकारण मुलुक अस्थिर रहँदै आएको उहाँको भनाइ छ । 'यो संविधान जारी गर्ने बेला लाखौं मधेशी जनता सडकमा ब्ल्याकआउट गर्दै थिए, तर गोली दागेर संविधान जारी गरियो,' उहाँले भन्नुभयाे, 'यस्तो संविधान जनतालाई स्वीकार्य हुँदैन ।'

अध्यक्ष यादवले संविधानको संशोधन र परिमार्जन मात्र नभइ आवश्यकताका आधारमा पुनर्लेखन नै गर्नुपर्ने बताउनुभयाे । तर, संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए देशले निकास नपाउने उहाँको जिकिर छ । 'हामी चुनावमा त जाउँला,' उहाँले भन्नुभयाे, 'तर, यसरी मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन्, कांग्रेस कम्युनिष्टले लुट मचाइरहन्छ ।'

संविधानमा सबै समुदायलाई जनसंख्याका आधारमा सम्बोधन गर्नुपर्ने उहाँकाे भनाइ थियाे । 'राजनीतिक वा प्रशासनिक क्षेत्रमा होस्, सेवा वा अवसर प्राप्तिमा होस्, गैरबराबरी अन्त्य गर्नुपर्छ,' यादवले भन्नुभयाे, 'जसको जति जनसंख्या छ, हरेक क्षेत्रमा त्यति हिस्सा मिल्नुपर्‍यो ।'


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।