चार मन्त्रीको राजीनामापछि ११ सदस्यमा सीमित मन्त्रिपरिषद्, गैरदलीय सरकार आलोचनाको घेरामा

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार मन्त्रीको राजीनामापछि ११ सदस्यमा सीमित मन्त्रिपरिषद्, गैरदलीय सरकार आलोचनाको घेरामा

काठमाडौं । चार महिनामा पाँच पटक विस्तार भई १४ सदस्यीय बनेको मन्त्रिपरिषद् प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन ११ सदस्यमा सिमित भएको छ । 

चुनाव गराउने म्यान्डेटसहित मान्त्रिपरिषद् बनाउनु भएकी प्रधानमन्त्री कार्कीलाई चुनावकै कारण देखाएर अन्तिम समयमा चार मन्त्रीहरूले असहयोग गरे । कार्की नेतृत्वको सरकार गठन हुँदै नागरिक स्तरको गैरदलीय सरकार भनियो । कार्की आफैंले पटक-पटक मन्त्रिपरिषद् सदस्यले चुनाव नलड्ने र निष्पक्ष चुनाव गराउने दाबी गर्न छाड्नु भएन । तर गैरदलीय सरकारका चार मन्त्री पद छाडेर चुनावमा होमिएसँगै आलोचना बढेको छ । 

यता मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान छ । प्रधानमन्त्री शुसीला कार्कीको काँधमा शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ताले सम्हाल्दै आउनु भएको जिम्मेबारी समेत थपिएको छ । गैरदलीय नागरिक सरकारका चार मन्त्रीले चुनाव लड्ने भन्दै राजीनामा दिएपछि प्रधानमन्त्रीको काँधमा थप कार्यभार थपिएको हो । 

सिंहदरबार स्रोतका अनुसार मन्त्री कार्कीले अन्य मन्त्रीलाई जिम्मेवारी दिन खोजे पनि लिन नचाहेपछि खाली भएका मन्त्रालय आफैंसँग राख्नुभएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सञ्चार र खेलकुद लिन आग्रह गरिएको स्रोतको दाबी छ । तर, मन्त्री श्रेष्ठले पर्यटन लिन खोज्नुभएको भए पनि मन्त्री अनिलकुमार सिन्हाले पर्यटन नछाडेपछि श्रेष्ठले अन्य मन्त्रालयमा चासो नराख्नुभएको स्रोतको दाबी छ । 

शिक्षा मान्त्रालय लिन पनि कसैले चाहेका छैनन् । हाल प्रधानमन्त्री कार्कीले रक्षासहित शिक्षा, सञ्चार र खेलकुद मन्त्रालय सम्हाल्दै हुनुहुन्छ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भने जिम्मेबारी नलिएको कुरा सत्य नभएको दाबी मात्रै गर्नु भएन आवश्यक परेको खण्डमा जिम्मेवारी लिने बताउनु हुन्छ । 

मन्त्रीहरूले चुनाव लड्न पद छाडेको प्रश्नमा भने उहाँले मन्त्रीहरूको व्यक्तिगत कुरा भए पनि जिम्मेवारी पुरा नगरी छाड्दा सन्देश राम्रो नगएको जिकिर गर्नुभयो । महावीर पुनले म्याग्दीबाट चुनाव लड्न स्वतन्त्र मनोनयन दर्ता गराउनु भयो । जबकी उहाँले केहि समय अघिसम्म राजनीति नगर्ने बताउँदै आउनु भएको थियो । 

जगदीश खरेलले राजीनामा दिएपछि पनि कुन दलमा जाने भनेर नखुलाएकामा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर २ मा मनोनयन दर्ता गराउनु भयो । जबकी उहाँमाथि पटक-पटक नैतिकताको प्रश्नमात्र उठेन, प्रधानमन्त्री कार्कीले राजीनामै माग्दा पनि समाचार नै झुटो भएको दाबी गर्दै रहनुभयो । 

बब्लु गुप्ता पनि रास्वपामा प्रवेश गर्दै सिरहा १ बाट उम्मेदवार बन्नु भयो । कुलमान घिसिङ पनि रास्वपासँगको एकता भाँडिएपछि आफ्नै उज्यालो नेपाल पार्टीमा फर्किएर काठमाडौं ३ बाट उम्मेदवारी दिनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.