रोल्पा । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिएसँगै रोल्पाको चर्चित गाउँ थवाङमा पनि माहाेल तातिएको छ ।
पञ्चायत कालदेखिकै निर्वाचनमा चर्चामा रहने थवाङको यसपटकको निर्वाचनमा कस्तो भूमिका होला ? त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँगै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव उम्मेदवार बन्ने कुराले थवाङको चर्चा झन् चुलिएको हो ।
थवाङले आगामी निर्वाचनलाई कसरी हेहिरहेको छ ?
२०६४ को संविधान सभाको पहिलो निर्वाचनमा उत्साहका साथ सहभागी थवाङले त्यसपछिका कतिपय निर्वाचनलाई बहिस्कार गरेर चर्चा कमायो । थबाङबासीले विश्वास गर्दै आएको कम्युनिस्ट पार्टीमा फुट आएपछि यहाँको मत पनि विभाजित भयो । तर २१ फागुनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द आफैंले निर्वाचनमा भाग लिने भएपछि थवाङमा निर्वाचनको माहाेल पुनः तातिएको छ ।
माओवादीको गढका रूपमा चिनिने रोल्पामा चन्दले उम्मेदवारी दिने विषयले थवाङमा मात्रै नभएर पूरै जिल्लामा राजनीतिक चहलपहल बढेको हो । पटक-पटक सांसद जितेर पटक-पटक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका वर्षमान पुन नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बन्दा पुनसँगै सशस्त्र विद्रोहमा लागेर लामो समय संसदीय निर्वाचन बाहिर बसेका नेत्रविक्रम चन्द पहिलोपटक संसदीय चुनावको मैदानमा उत्रिंदै हुनुहुन्छ । यसले रोल्पालाई फेरि चर्चित बनाएको छ ।
यहाँ नेपाली कम्युनिस्ट पार्टी आफू निर्वाचन जित्नेमा विश्वस्त देखिइरहँदा पहिलो पटक संसदीय राजनीतिमा उत्रिन लागेको नेकपा माओवादीले आफूलाई अग्रस्थानमा रहेको दाबी गरेको छ । कांग्रेसबाट अम्बरसिंह पुनको नाम चर्चामा आइरहँदा एमालेले गोकुलप्रसाद घर्तिलाई उम्मेदवार तोकिसकेको छ भने नयाँ दलहरूले पनि आफूलाई बलियोरूपमा प्रस्तुत गर्ने गरी तयारी गरेका छन् ।
माओवादी सशस्त्र द्वन्द्वमा रोल्पामा ९ सय ६९ जनाले ज्यान गुमाए भने थवाङमा मात्रै ३ सयको मृत्यु भयो । लामो समयदेखि विद्रोही राजनीतिमा लागेका रोल्पाका रैथाने नेत्रविक्रम चन्दको उम्मेदवारीलाई झन्डै प्रत्यक घरबाट ज्यान गुमाएका थवाङबासीले द्वन्द्वको घाउको मलमका रूपमा हेरिहेका छन् ।
७४ हजार ९ सय ०७ महिलासहित १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेको रोल्पामा ४ हजार १ सय २६ मतदाता नयाँ छन् । परिवर्तन र विकासका लागि बलिदानी दिएका थवाङबासी सोचेजस्तो विकास नभएकोमा निराशा जनाइरहँदा विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने सोचमा छन् ।
निर्वाचनको बेला सधैं चासो र चर्चामा रहने रोल्पाको थवाङ, यहाँका बासिन्दाहरू विकास र समृद्धि पर्खिरहेका छन् ।