ग्लोबल क्वालिफायर : अमेरिका र नेदरल्यान्ड्सकाे जित

माघ ६, २०८२ |खेल ब्युरो
ग्लोबल क्वालिफायर : अमेरिका र नेदरल्यान्ड्सकाे जित

काठमाडौं । ग्लोबल क्वालिफायरमा अमेरिकाले पहिलो र नेदरल्यान्ड्सले दोस्रो जित हात पारेका छन् । 

मंगलबार कीर्तिपुरमा भएको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ७ रनले पराजित गरेर लगातार दोस्रो जित हात पारेको हो। यो जितसँगै नेदरल्यान्ड्स समूह 'ए' को शीर्षस्थानमा छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । 

कमजोर सुरुआत गरेको नेदरल्यान्ड्सका लागि चौथो नम्बरकी स्टेर कालिसले ६० बलमा १४ चौका र एक छक्का प्रहार गर्दै अविजित ८७ रन बनाइन्। अर्को एन्डबाट उनले लामो साझेदारीको साथ पाउन नसकेको भए पनि नेदरल्यान्डले प्रतिस्पर्धात्मक स्कोर खडा गरेको हो।

स्कटल्यान्डका रिचेल स्लेटरले तीन विकेट लिइन्। उनले चार ओभरमा २४ रन खर्च गरेर तीन विकेट लिएकी हुन्। जवाफमा स्कटल्यान्डका डार्सी कार्टर दुई रनमा आउट भए पनि क्याथरिन फजरले ४१ रनको योगदान गरिन्। उनले कप्तान क्याथरिनसँग ६० रनको साझेदारी गरेकी थिइन्। 

क्याथरिनले ४२ तथा सारा ब्रसीले ३० रन जोडेको भए पनि स्कटल्यान्ड लक्ष्यको नजिक मात्रै पुग्न सक्यो। उसलाई लक्ष्यमा पुग्न नदिन क्यारोलिन डि ल्याङ्गाले दुई विकेट लिइन्। अर्को खेलमा अमेरिकाले नामिबियालाई ४ विकेटले हराएको छ। नामिबियाले दिएको एक सय ४५ रनको लक्ष्य चार बल बाँकी रहँदै पुरा गरेर अमेरिकाले पहिलो जित निकालेको हो।

पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेट क्षतिमा एक सय ४४ रन बनाएको हो। ओपनर यासमिन खानले ४७ बलमा नै विस्फोटक ब्याटिङ गरेर ७४ रन जोडिन्। उनले ११ चौका र दुई छक्का प्रहार गरेकी थिइन्। गोरासेसले पनि २८ रनको योगदान गर्न सकिन्। बलिङमा तारा नोरिसले तीन विकेट आफ्नो नाममा गरेकी थिइन्। जवाफमा इला क्लारिजले ५१ बलमा ७० रन बनाएपछि अमेरिकाले सहजै लक्ष्य पुरा गरेको हो।