केपी शर्मा ओली: नेकपा सदस्यतादेखि तेस्रो पटक अध्यक्षसम्म

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
केपी शर्मा ओली: नेकपा सदस्यतादेखि तेस्रो पटक अध्यक्षसम्म

काठमाडौँ । नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली तेश्रो पटक निर्वाचित हुनुभएको छ । उहाँ प्रधानमन्त्री भने चार पटक हुनुभएको छ । वाकपटुतायुक्त नेताका रूपमा विशेष पहिचान बनाएका ओलीले दुई कार्यकाल र ७० वर्षे उमेर हदको विधान उल्ट्याएर तेश्रो पटक अध्यक्षको उम्मेदवार बन्ने बाटो आफ्नै लागि खोल्नुभएको थियो ।

यसअघि उहाँ २०७१ सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष बन्नुभएका ओली चितवनमा भएको १० औं महाधिवेशनमा दोश्रो पटक अध्यक्षमा चुनिनुभएको थियो ।

ओली भाषण गर्दा उखानटुक्का प्रयोग गरेर हाँस्यरस मिसाउन खप्पिस मानिनुहुन्छ भने विरोधी प्रति आक्रामक । आफैले पार्टी लोकतान्त्रिक र बहुपदीय संरचनाको वकालत गरेर आफू नेतृत्वमा आएपछि भने ओलीले एमालेलाई आफूमात्रै सर्वेसर्वाको अवस्थामा पुर्याएको आरोप लाग्दै आएको छ ।

राष्ट्रिय राजनीतिमा ओलीको यात्रा २०४८ सालमा झापा क्षेत्र नम्बर ६ मा चुनाव जितेर सुरु भएको हो । २०५९ सालमा झापा-२ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित ओली २०५१ सालमा गृहमन्त्री बन्नुभएको थियो । ०६४ देखि ०६५ सम्म उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका ओली २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्री बन्नुभएको थियो ।

त्यसपछि २०७४ मा दोश्रो, २०७८ मा तेस्रोपटक र २०८१ सालमा चौथोपटक प्रधानमन्त्री बन्नुभएका ओली भदौं २३ र २४ को जेनजी आन्दोलनपछि राजीनामा दिएर उपत्यका नै छाड्नुपरेको थियो ।

तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक ओलीको राजनीतिक यात्रा भने २०२६ सालमा पार्टी सदस्यता लिएसँगै अघि बढेको थियो । उहाँ २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन विताउनुपरेको थियो ।

२००८ साल फागुन ११ गते तत्कालीन इवा गाविस–२ तेह्रथुममा जन्मिएका ओलीको परिवार पछि झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओली हाल भने भक्तपुरमा बसोबास गर्नुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.