एमाले महाधिवेशनमा आज उम्मेद्वारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म

नेतृत्व चयनका लागि भोलि मतदान,केपी शर्मा ओली र ईश्वर पोखरेल समूह नै बनाएर चुनावी मैदानमा
मंसिर २९, २०८२ |बालकृष्ण अधिकारी
एमाले महाधिवेशनमा आज उम्मेद्वारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि प्रकृया सुरु भएको छ । मतदाता नामावली सार्वजनिक गर्दै नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले समूह नै बनाएर चुनावी मैदानमा उत्रँदैछन् । ओलीको तर्फबाट हालका विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दोहोर्याउने गरी टिम बन्दैछ । महासचिवका आकांक्षी प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई उपाध्यक्षमा बढुवा गरेर केही नयाँलाई सचिवमा थप्ने ओली पक्षको रणनीति छ । ईश्वर पोखरेल समूहमा देखिएका नेताहरुलाई तान्ने र पदाधिकारीमा राख्ने योजना अनुसार ओली पक्षले टिम बनाइरहेको छ ।

अध्यक्षका अर्का दाबेदार उपाध्यक्ष ईश्वर पोखरेल समूहले सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट सहितका नेताहरुको टिम बनाउँदैछ । पोखरेल समूहको टुङ्गो लगाउन पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि सघाइरहनुभएको छ । पोखरेलपक्षमा उभिनु्भएका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्ट्रलक्ष्मी शाक्लले भने बन्दसत्रबाट नै उमेदवार नबन्ने घोषणा गर्नुभएको छ।

२ हजार २ सय ६२ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमाले नेताहरुले जनाए पनि दुई पक्षबीच चुनाव हुने करिव निश्चित जस्तै छ । मतदान प्रक्रियाबाट नेतृत्व छान्ने अवस्थाकै लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने र मतदातालाई सिकाउने काम पनि सुरु भैसकेको छ । आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध तथा सुधारको समय तय भएको छ ।

त्यसैगरी विहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय तथा सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ। आजै एमाले महाधिवेशनमा उम्मेद्वारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको कार्यतालिका सार्वजनिक गरिएको छ । नयाँ नेतृत्वका लागि मतदान भने भोलि हुनेछ । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।