
काठमाडौं । मतदातालाई दिएको बाचा र आफ्नो कार्यकाल अधुरै छाडेर संघीय संसद्को सांसद बन्न हान्निएका प्रदेश र स्थानीय तहका अधिकाँश जनप्रतिनिधिहरूले हार ब्यहोर्नु परेको छ ।
एक दर्जनभन्दा जनप्रतिनिधिहरू चुनावमा होमिएकामा बालेन्द्र शाह, हर्क साम्पाङ र सुशील साह कानुबाहेक पराजित भएका छन् ।
पालिकाको नेतृत्वमा रहेका केहीले त तीन अंकको आँकडासमेत पुर्याउन सकेनन् । न त पद रह्यो, न सांसद बन्ने सपना पूरा ।
स्थानीय र प्रदेश तहको आफ्नो पाँच वर्षे कार्यकाल र जनतालाई गरेका विकासका बाचासमेत अपूरै राखेर सिधै संघीय संसद् बन्न चुनावमा होमिएका अधिकांश जनप्रतिनिधिलाई मतदाताले ब्यालेटबाटै जवाफ दिएका छन् अर्थात् मतबाटै हराइदिएका छन् । काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिनुभएका बालेन्द्र शाह, धरान उपमहानगर प्रमुखबाट राजीनामा दिनुभएका हर्क साम्पाङ र वीरगन्जका वडाध्यक्ष सुशील शाह कानुबाहेक अन्य कसैले पनि चुनाव जित्न सकेनन् ।
रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिनुभएका शाह झापा ५ बाट सबैभन्दा धेरै मतको रेकर्ड राख्दै विजयी हुनुभयो । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका साम्पाङ पनि सुनसरी १ बाट ठुलो मतान्तरले विजयी हुनुभयो । यस्तै वीरगन्जको वडाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिनुभएका सुशील साह रास्वपाबाट विजयी हुँदै संघीय संसद् बन्नुभएको छ ।
तर भरतपुर महानगरपालिकाबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट चितवन ३ मा चुनाव लड्नुभएकी रेणु दाहाल भने रास्वपाकी सोविता गौतमसँग ठूलो मतान्तरले पराजित हुनुपर्यो । त्यसैगरी धुलिखेल नगर प्रमुखबाट राजीनामा दिनुभएका अशोककुमार ब्याञ्जु रास्वपा उम्मेदवार बदन भण्डारीसँग पराजित हुनुभयो ।
काभ्रे २ बाट ब्याञ्जुको उम्मेदवारी परेको थियो । त्यसैगरी नगरप्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका सूर्योदय नगरपालिकाका रणबहादुर राई र मोरङको रंगेलीका दिलिपकुमार अग्रवाल पनि मतदाताबाट अस्वीकृत भएका छन् । राई नेकपाबाट इलाम १ मा र अग्रवाल एमालेबाट मोरङ २ मा उम्मेदवार बन्नुभएको थियो ।
यस्तै नागरिक उन्मुक्तिबाट नेकपा प्रवेश गरेर उम्मेदवारी दिनुभएका रामलाल डगौरा पनि कैलाली १ मा पराजित हुनुभएको छ । उहाँ पनि टीकापुर नगरपालिकाको प्रमुखबाट राजीनामा दिएर हिड्नुभएको थियो । यस्तै नेकपाबाट टिकट लिएर चुनाव लड्नुभएका धरानका वडाध्यक्ष मनोज भट्टराई सुनसरी १ मा पराजित हुनुभएको छ ।
नेपालगञ्ज उपमहानगर उपप्रमुख कामरुद्दिन राईले पनि कार्यकाल नसकिँदै राजीनामा दिइ बाँके २ बाट जसपाको टिकटबाट चुनाव लड्नुभएको थियो । तर उहाँले जमानत नै जोगाउन सक्नुभएन । उहाँले जम्मा ९ सय ८ मत ल्याउनुभयो । ओखलढुङगाको लिखु तामाकोशी गाउँपालिकाकी उपप्रमुखबाट राजीनामा दिनुभएकी अस्मिता थापा पनि पराजित हुनुभएको छ ।
एमालेबाट चुनाव लड्नुभएकी उहाँले भने १० हजार ७ सय २० मत ल्याउनुभयो । उता उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उदयपुर २ बाट स्वतन्त्र रूपमा चुनाव लड्नुभएका मेजर राइले ९० मतमात्र पाउनुभयो ।
स्थानीय जनप्रतिनिधि मात्रै होइन प्रदेश सांसद छाडेर संघीय सांसद हुन हिडेकाहरू पनि अधिकांश पराजित भएका छन् । बागमती प्रदेशका ६ सदस्यले राजीनामा दिएकामा ५ जनाले टिकट पाएका थिए । जसमध्ये नेकपाका युवराज दुलाल र राप्रपाबाट राजिनामा दिएर रास्वपाबाट निर्वाचन लडेका सुनील केसी २ जनामात्रै निर्वाचित भए । तर एमालेका अमन मास्के, प्रकाश श्रेष्ठ र नेकपाका बसन्त मानन्धर पराजित हुनुभयो ।
लुम्बिनिमा पनि आफ्नो कार्यकाल अधुरो राखेर ४ सांसदले संघीय निर्वाचन लडेका थिए । तीमध्ये कन्हैयालाल बनियाबाहेक कसैले पनि जित हात पार्न सकेनन् । नेकपाका धनबहादुर मास्के, उज्यालो नेपालबाट निर्वाचन लडेका धर्मबहादुर चौधरी र नेकपाबाट सांसद बनि राजीनामा दिएर प्रलोपाबाट उम्मेदवार बनेका कृष्ण केसी पराजित भए ।
मधेश प्रदेशमा पनि राजीनामा दिएर संघीय संसद्का उम्मेदवारी दिनुभएका जनमतका सतिश सिंह र एमालेका रामचन्द्र मण्डलले पनि लज्जास्पद हार ब्यहोर्नुभएको छ ।