
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले निर्वाचन परिणामपछि पार्टीभित्र आत्मसमीक्षा, नीतिगत सुधार र खुला बहसको आवश्यकता औँल्याउनुभएको छ।
भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुराकानी गरेको र त्यत्तिकै सन्देशहरू प्राप्त गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूबाट सुझाव, आलोचना, आक्रोश, निराशा तथा सम्भावनासहितका विविध धारणा आएको बताउनुभएकाे छ।
उहाँले निर्वाचनमार्फत जनताले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको स्वीकार गर्दै यसलाई वस्तुगत यथार्थका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ। जनसमर्थन पुनः हासिल गर्न पार्टीभित्र व्यापक रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ छ।
भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरू सही नभएको भन्दै त्यसमा सुधार गर्न आफूहरूले नेतृत्वसमक्ष पटक–पटक आग्रह गरे पनि सफल नभएको दाबी गर्नुभएको छ। अब पुनः खुला छलफल र बहस आवश्यक भएको उहाँले बताउनुभयो।
उहाँले पार्टीको वर्तमान अवस्थाका लागि नीति मात्र होइन, जिम्मेवारीमा रहेका विभिन्न तहका कमिटी र नेताहरू पनि जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभएको छ। विशेषगरी केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले सफलता–असफलताको मुख्य जिम्मेवारी लिनुपर्ने उहाँको धारणा छ।
पार्टीभित्र विगतका गुट–समूहको घेराबाट बाहिर निस्केर खुला र स्पष्ट बहस गर्न भट्टराईले सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। साथै पार्टी, जनसंगठन र प्रवासका कमिटी तथा सदस्यहरूलाई आफ्ना सुझाव नेतृत्वसमक्ष पठाउन आग्रह गर्नुभएको छ।
“कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ,” भन्दै उहाँले सही नीति, संगठन, नेतृत्व र कार्यशैलीमार्फत पार्टी पुनः उठ्ने विश्वास व्यक्त गर्नुभएको छ। पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटोमा अघि बढ्न उहाँले सबैलाई अपिल गर्नुभएको छ।
भट्टराईले बुद्धिजीवी तथा आम नागरिकलाई पनि नेकपा एमालेबारे आफ्ना सुझाव, आलोचना र टिप्पणीहरू दिन आग्रह गर्दै राष्ट्रिय एकता, नेपाली सार्वभौमिकताको रक्षा र वाम–लोकतान्त्रिक विचारधाराको संरक्षणका लागि सकारात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, 'कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !
विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यो, पहल लिनु पर्यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई मेरा प्रारम्भिक बिचार
निर्वाचनमा आफ़नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ ।
मुलत: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ ।
हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहंन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।
पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट (समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।
राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।'