
काठमाडौं । जेन-जी आन्दोलनको जगमा भएको प्रतिनिधि सभा निर्वाचनको जनादेशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ बहुमतको नजिक पुर्याएको छ ।
प्रत्यक्ष र समानुपातिक दुवैमा रास्वपाले पाएको मत प्रतिशत नेपालको संसदीय इतिहासमा भएका निर्वाचनमै सबैभन्दा बढी हो । यो निर्वाचनले के कस्ता रेकर्ड बनाएको छ त ? हेरौं यो रिपोर्ट।
२०८२ फागुन २१ गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभुतपूर्व जनादेश दिएको छ । मुलुकमा प्रजातन्त्र स्थापना गर्न योगदान पुर्याएका नेपाली कांग्रेस र नेकपा एमाले तथा सशस्त्र संघर्षमार्फत उदाएर संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको तत्कालीन नेकपा माओवादी पृष्ठभूमिको नेकपालाई जनमतले दण्डित गरेको छ ।
रास्वपाले जुन मतादेश पाएको छ, यति धेरै विश्वास जित्नेमा उसकै नेतृत्व पनि विश्वस्त थिएन् । नत कांग्रेस, एमालेसहितका मुलधारका दलहरूले यति अकल्पनीय धक्काको पूर्वानुमान गरेका थिए । नेपालमा २००७ सालमा जहानियाँ राणा शासन अन्त्यपछि बहुदलीय व्यवस्थामा ९ वटा निर्वाचन भएका छन् ।
पहिलो आम निर्वाचन २०१५ फागुन ७ गते प्रारम्भ भइ ४५ दिन लगाएर चैत २८ मा सकिएको थियो । त्यसपछि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन भएको थियो । फागुन २१ को निर्वाचन नवौं हो । यो निर्वाचनले पुराना दलहरुलाई विस्थापित गरेर वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपालाई स्थापित मात्रै गरेको छैन, यसले धेरैवटा रेकर्ड कायम गरेको छ ।
एक सय ६५ सिटका लागि प्रत्यक्षतर्फ भएको मतदानमा रास्वपाले १ सय २५ सिटमा जित हासिल गरिसकेको छ । यो भनेको करिब ७६ प्रतिशत मत हो । एउटै पार्टीले प्रत्यक्षतर्फ यति धेरै सिट जितेको र मत पाएको संसदीय निर्वाचन इतिहासमै पहिलोपटक हो ।
यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले एक सय ९ मध्ये ७४ सिटमा जितेको थियो । त्यो झन्डै ६८ प्रतिशत मत हो । २०४८ सालको निर्वाचनमा उसले २०५ सिटमा एक सय १० सिट जितेर करिब ५४ प्रतिशत जनमत पाएको थियो ।
२०५६ सालको चुनावमा कांग्रेसले नै २०५ मध्ये १ सय ११ सिट जित्दै ५४ प्रतिशत मत पाएको हो । २०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीले २ सय ४० सिटमा १ सय २० सिट अर्थात् ५० प्रतिशत जितको थियो । २०५१, २०७०, २०७४ र २०७९ मा भएको निर्वाचनमा भने कुनै पनि दलले बहुमत नतिजा निकाल्न सकेनन् ।
त्यसो त अहिले जारी मत गणनामा रास्वपाले पाएको समानुपातिकतर्फको मत पनि प्रतिशतका हिसाबले सबैभन्दा धेरै नै हो । एक करोड ९ लाख मतमध्ये ९५ लाख मत गणना भैसक्दा रास्वपाले ४६ लाख मत पाइसकेको छ । यो भनेको ४८ प्रतिशतभन्दा बढी हो ।
अब हेरौं, बढी मत र सर्वाधिक मतान्तरको रेकर्ड ।
फागुन २१ को निर्वाचनमा झापा-५ बाट रास्वपाका बालेन्द्र शाहले पाएको ६८ हजार ३४८ मत अहिलेसम्मकै सबैभन्दा धेरै हो । जहाँ एमालेका केपी शर्मा ओली १८ हजार ७ सय ३४ मात्रै भोट ल्याएर पराजित हुनुभयो । सबैभन्दा बढी मतान्तरको रेकर्ड पनि रास्वपाकै सांसदको नाममा रह्यो ।
रूपन्देही- ३ मा डाक्टर लेखजंग थापाले कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३ सय ७९ मतान्तरले पराजित गरेर नयाँ रेकर्ड राख्नुभएको हो । थापाले ५८ हजार ८१४ मत पाउँदा गुरूङले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभयो । मतान्तरको रेकर्ड यसअघि २०८० को उपनिर्वाचनमा रास्वपाकै सभापति रवि लामिछानेको ४२ हजार ९६२ को र २०६४ मा तत्कालीन माओवादी नेता बाबुराम भट्टराईको ४० हजार एक सय १ मतको थियो ।
अर्को रेकर्ड यसपालि सबैभन्दा कम मत खसेर बनेको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपालि ५८ प्रतिशत मात्रै मत खसेको छ । कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६७८ थिए तर एक करोड ९ लाख ७७ हजार ७ सय ११ जनाले मात्रै मतदान गरे ।
यसअघि २०४८ मा ६५ प्रतिशत, २०५१ मा ६१ प्रतिशत, २०५६ मा ६५ प्रतिशत, २०६४ मा ६१ प्रतिशत, २०७० मा ७८ प्रतिशत, २०७४ मा६८ प्रतिशत, २०७९ मा प्रतिशत र २०८२ मा ५८ प्रतिशत मत खसेको थियो । यो निर्वाचनबाट नयाँ दलका रूपमा जेन-जी आन्दोलनपछि उदाएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएको छ भने संसद्मा ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।
जनताले रास्वपालाई मतबाट गरेको अपार विश्वास सुशासन र सम्बृद्धि को नयाँ मार्गचित्रका लागि हो भन्न प्रष्ट भएको छ । रेकर्डमाथि रेकर्ड बनाउने गरी रास्वपा र उसका उम्मेदवारले पाएको जनविश्वास अब कसैसँग सत्ता र शक्तिको मोलमोलाई नगरी काम गर्नुपर्ने म्यान्डेट पनि हो ।
जनताले मतमार्फत बोकाएको विश्वासको भारीलाई रास्वपाले काम गर्न सकेनौ भने पाँच वर्षपछि फर्केर नआउनु भन्ने चेतावनीका रूपमा पनि बुझ्नुपर्छ ।