
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरू भएको छ ।
मतदाता नामावली सार्वजनिक गर्दै नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले आइतबार बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समूह नै बनाएर चुनावी मैदानमा उत्रँदैछन् । अध्यक्ष ओलीको तर्फबाट हालका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दोहोर्याउने गरी टिम बन्दैछ ।
महासचिवका आकांक्षी प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरूङलाई उपाध्यक्षमा बढुवा गरेर केही नयाँलाई सचिवमा थप्ने ओली पक्षको रणनीति छ । ईश्वर पोखरेल समूहमा देखिएका नेताहरूलाई तान्ने र पदाधिकारीमा राख्ने योजना अनुसार ओली पक्षले टिम बनाइरहेको छ ।
अध्यक्षका अर्का दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टसहितका नेताहरूको टिम बनाउँदैछ । पोखरेल समूहको टुङ्गो लगाउन पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि सघाइरहनुभएको छ ।
२ हजार २ सय ६२ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्नेछन् । नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमाले नेताहरूले जनाए पनि दुई पक्षबीच चुनाव हुने करिब निश्चित जस्तै छ । मतदान प्रक्रियाबाट नेतृत्व छान्ने अवस्थाकै लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने र मतदातालाई सिकाउने काम पनि सुरू भैसकेको छ । भोलि २९ गते बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध तथा सुधारको समय तय भएको छ ।
त्यसैगरी बिहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय तथा सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ।