
सप्तरी । जनता समाजवादी पार्टी (जसपा)-नेपालले आफ्ना २८ बुँदे माग पूरा गराउन शुक्रबार सप्तरीकाे सदरमुकाम राजविराजस्थित जिल्ला प्रशासन कार्यालय अगाडि तीन घन्टा धर्ना दिएकाे छ।
मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्रीदेखि जसपा नेपालका विभिन्न समितिका नेता-कार्यकर्ताहरूको सहभागितामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन अगाडि धर्ना दिएका हुन्। उनीहरुले २८ बुँदे माग लेखिएको प्लेकार्डसहित प्रशासन अगाडि धर्ना दिएका हुन् ।
विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर-दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन-जी पुस्ताले उठाएको न्यायोचित मागहरू सम्बोधन गर्नुपर्नेसहितका २८ बँदे माग जसपा-नेपालको छ।
यस्तै धर्नामा सहभागी नेताहरूले संघीयता, समावेशिता, पहिचान र सामाजिक न्यायका मुद्दामा सरकारले बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाएका थिए। नेताहरूले संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन नभएकाले मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडावर्ग, महिला तथा अन्य सीमान्तकृत समुदाय निरन्तर वञ्चित भइरहेको आरोप लगाउनुभयो।
आफूहरूले अघि सारेको २८ बुँदे माग पुरा गराउन लगातार संघर्षका कार्यक्रमहरू जारी राख्ने र आगामी निर्वाचनलक्षित पनि यही २८ बुँदे माग जनतासमक्ष समेत प्रस्तुत गरिने जसपा नेपालका सप्तरी सचिव निरज मुक्तिले जानकारी दिनुभयो।