
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरूरी रहेको बताउनुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको बताउनुभएको हो ।
उहाँले जापान, बेलायत, नेदरल्यान्ड, अस्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताउनु भयो । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने उहाँले माग गर्नुभयो । उहाँले जेन-जी हत्यारालाई पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत गर्नुभयो । जेन-जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्टसँग छातीमा हात राखेर प्रदेश संरचना खारेज गर्ने मान्छे, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य मन पराउने मान्छे, यो देशमा राष्ट्रपति चाहिएन, संवैधानिक राजसंस्था चाहिन्छ, साइकल चढ्ने राजाको आवश्यकता छ । जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था चाहिन्छ । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्छ । जेन-जी हत्यारालाई पक्राउ गरेर जेल हाल्नुपर्छ । २३ गते सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झन्डामा एकजुट भएर उपस्थित हुनुहोला । जेन-जी युवाहरूले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।’
उहाँले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताउनु भयो । राजा, जेन-जी र राजनीतिक दलहरूले त्रिपक्षीय सम्झौता गर्न उहाँले आह्वान गर्नुभयो । माग पूरा नभए सडक आन्दोलन सुरू हुने उहाँले चेतावनी दिनुभयो । २३ गतेको प्रदर्शनमा घर-घरबाट उपस्थित हुन उहाँले आह्वान गर्नुभयो ।