मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा

ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेसको दावी, लोसपाको पनि चाह, समयसीमा भोलिसम्म
मंसिर १८, २०८२ |अनिल मिश्र
मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा

धनुषा । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समयसीमा नजिकिएसँगै दलहरुले छलफल तिब्र पारेका छन् । विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले हिजो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामासँगै मधेशमा अर्को सरकार बनाउने रस्साकस्सी सुरु भएको हो ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि भोलि शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

प्रदेश प्रमुखको आह्वानलगत्तै मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका हुन् । सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ । कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलका नेता यादवलाई नै सबै दलसित वार्ता र संवाद गर्न जिम्मेवारी तोकिएको बताउनुभयो । 

लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने अडान रहेको बताउनुभयो ।

भोलि नयाँ मुख्यमन्त्री बनेसँगै मधेश प्रदेशले तीन वर्षमा पाँचौं मुख्यमन्त्री पाउने भएको छ । २०७९ सालको निर्वाचनपछिका ३६ महिनामा मधेश प्रदेश सरकारबाट चार मुख्यमन्त्री बिदा भएका छन् । जेनजी आन्दोलनपछि पनि राजनीतिक दलहरु नसुध्रिएकै कारण गएको तीन महिनामात्रै मधेश सरकारमा तीन तीन जना मुख्यमन्त्री नियुक्त भएको विश्लेषकको ठहर छ । 

मुख्यमन्त्री पदबाट एमालेका सरोजकुमार यादवले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।