मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजीनामा दिनुभएको छ ।

विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गर्नुभएको हो । सदनमा एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूका अतिरिक्त अन्य दलका प्रदेश सभा सदस्यहरू मुख्यमन्त्री यादवको मन्तव्यकै क्रममा बाहिरिएपछि विश्वासको मत नपाउने देखेर उहाँले राजीनामा घोषणा गर्नुभयो । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी गत कातिक २३ गते नियुक्ति गरेपछि सात दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । 

सो रिटको सुनुवाइ गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशअनुसार बुधबार विश्वासको मत लिनकालागि मधेस प्रदेश सभा बैठक आह्वान गरिएको थियो । मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि अब प्रदेशमा सर्वोच्चको परमादेशअनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम फेरि सरकार गठनको बाटो खुलेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.