
काठमाडौं । लामो विवादलाई मत्थर पार्दै कांग्रेसले मंसिर १५ गते डेढ महिना लागाएर बसेको बैठकले पुष अन्तिम पार्टीको १५औं महाधिवेसन गर्ने निर्णय गर्यो । तर निर्णय गरेको २४ घन्टा नबित्दै नेताहरूका अभिव्यक्ति र गतिविधि भने संशय पैदा गर्ने खालका आउन थालेका छन् ।
केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै गर्दा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको कार्यतालिका रकेट स्पिडमा अघि बढ्ने दाबी गर्नुभएको थियो । महतले रकेड स्पिड शब्दाबली उच्चारण गर्दा उहाँलाई सुन्नेहरूबाट हाँसोको फोहरा नै छुट्यो। तर केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको तयारीमा रकेट स्पिडमा लाग्नुपर्ने नेताहरू महाधिवेशनको तयारी भन्दा पुसमा महाधिवेशन हुन कठिन हुने तर्क दिन थालिसकेका छन् ।
यसमा शीर्ष नेतादेखि केन्द्रीय सदस्यहरू नै छन् । हुन त नियमित महाधिवेशनको सर्वसम्मत निर्णयमा सहमति जनाउनुभएका महामन्त्रीहरूलाई पनि पुसमा नियमित महाधिवेशन हुनेमा शंका नभएको होइन । निर्णय भएकै दिन सोमबार नै महामन्त्री विश्वप्रकाश शर्माले पुस २६ देखि २८ मा महाधिवेशन नभए विशेष महाधिवेशन हुने आफ्नो पुरानै अडान दोहोर्याउनु भएको थियो ।
अर्का महामन्त्री गगन थापाले बाहिर नभने पनि महाधिवेशनको कार्यतालिकामा राखिएको समय ‘ग्याप’बारे प्रश्न उठाउँदै थापाले केन्द्रीय समितिको निर्णयमा ‘अतिरिक्त धारणा दर्ता नै गराउनु भएको छ। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएका अरू नेताहरू पनि महाधिवेशनको कार्यतालिका आउनु सकारात्मक उपलब्धि भए पनि महाधिवेशन तोकिएकै मितिमा हुनेमा ढुक्क छैनन् ।
नेताहरूले गम्भीर भएर काम गरे कार्यतालिका अनुसार महाधिवेशन गर्न असम्भव भने छैन तर क्रियाशील सदस्यता विवाद, छोटो समयको कार्यतालिका, नेताहरूबीच गुटको राजनीतिलाई लिएर भइरहेको तिव्र विवाद र ध्रुव्रीकरण अनि नेताहरूबाट आइरहेका परस्पर विरोधि धारणाले भने कांग्रेसको महाधिवेशनलाई थप अनिश्चितता तर्फ लैजान सक्छ ।
यसैले कांग्रेसको महाधिवेशन विवाद टरेको होइन, सरेको मात्र हो कि भन्ने शंका नेताहरूले नै गरिरहेका छन् ।