उपसभामुख इसरद्वारा मधेश प्रदेशसभा बैठक आजका लागि आह्वान

मधेशका सभामुखले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि आजको बैठकमा छलफल हुने
मंसिर ३, २०८२ |अमरकान्त ठाकुर
उपसभामुख इसरद्वारा मधेश प्रदेशसभा बैठक आजका लागि आह्वान

धनुषा । मधेश प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। उपसभामुख बबिता राउत इसरको निर्देशनपछि प्रदेशसभा सचिवालयले बैठक आह्वान गरेको हो ।

लामो समयदेखि अवरुद्ध रहेको मधेस प्रदेशसभा सञ्चालनका लागि मंगलबार विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष माग गरेका थिए । विपक्षी दलहरूका तर्फबाट प्रदेशसभा सदस्य भरतप्रसाद साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख राउतलाई प्रदेशसभा बैठक बोलाउनका लागि मागपत्र बुझाउनु भएको थियो । प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानुनी प्रावधान छ ।

मधेस प्रदेशसभामा सभामुख मण्डल विरुद्धमा दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउनका लागि सात दलबाट माग भएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा सभामुखमाथि पदअनुसार आचरण नगरेको प्रस्ताव दर्ता गराएको दाबी गर्दै सोही प्रस्तावमाथिको छलफल अगाडि बढाउने विषयमा उपसभामुखसँग छलफल भएको बताउनुभयो । 


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।