
काठमाडौं । मंसिर कृष्ण चतुर्दशी आज पाशुपत क्षेत्र लगायत विभिन्न धार्मिक स्थलमा बालाचतुर्दशी पर्व मनाइएको छ । दिवंगत पितृहरुको सम्झनामा रातभर जाग्राम बसेर दीप प्रज्ज्वलन गरी आज बिहान शतबीज छर्ने प्रचलन छ ।
हिन्दु संस्कृति मान्नेहरुले आफ्ना दिवंगत पूर्खाहरुको मुक्तिको लागि शतबीज छर्ने गर्दछन् । हिन्दु संस्कृति अनुसार कुनैपनि दूर्घटना या अकाल मृत्यु भएका मानिसहरु पूर्णरुपमा स्वर्ग या नर्कमा तर्न सक्दैनन् । जीवन जिउने क्रममा उनीहरुले पूरा गर्न नसकेका विभिन्न कर्म पूरा नभएसम्म मृतात्मा बैतर्नी तर्दैनन् भन्ने मान्यता छ । त्यसका लागि मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ ।
शतबीज छर्नेक्रममा विभिन्न किसिमका ७ अन्नहरुको प्रयोग गरिन्छ । यसलाई सप्ताधानयुक्त शतबीज पनि भनिन्छ । यसमा धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ आदि पर्छ । यस्ता शतबीजहरु हिन्दु धर्मको आस्था जोडिएका विभिन्न धार्मिक जंगलहरुमा छर्ने गरिन्छ । पशुपतिको कैलाश डाँडा, श्लेष्मान्तक वन र अन्य आस्था जोडिएका वनहरुमा बढी शतबीज छर्ने गरिन्छ । यसको लागि त्रयोदशीको दिन पितृहरुको सम्झनामा दीप प्रज्वलन गरी रातभरी जागा बस्ने गरिन्छ । यो क्रममा भजनकीर्तन गर्ने, भगवान स्तुति गर्ने गरी रातभरी जागा बस्ने गरिन्छ । भोलिपल्ट बिहान झिसमिसेमै उठेर स्नानादि कर्म सकेर चोखो मन र शरीरले विधिपूर्वक कुनैपनि धार्मिक महत्व रहेका वनहरुमा पुगेर यसलाई छर्ने गरिन्छ । यो पर्व शक्तिपीठ पुग्न नसकेकाहरुले घरमै बसेर पनि मनाउने गर्छन् ।