मंसिरमै पार्टीको महाधिवेशन प्रक्रिया सुरू गर्न कांग्रेसका २४ केन्द्रीय सदस्यको माग

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मंसिरमै पार्टीको महाधिवेशन प्रक्रिया सुरू गर्न कांग्रेसका २४ केन्द्रीय सदस्यको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबरासहितका २४ केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै सुरू गर्न माग गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै उहाँले सो माग गर्नुभएको हो । १५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नविकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य रहेको नेता जबराले बताउनु भयो । 

उहाँले आफूहरूले कांग्रेसमा यो वा त्यो गुट भनेर नहेरेको बरू कांग्रेसलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताउनु भयो । कांग्रेसभित्र परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उहाँले बताउनु भयो । कांग्रेसले विशेष महाधिवेशन गर्न नहुने उहाँकाे भनाइ थियाे । 

पुसको अन्तिमसम्म विशेष महाधिवेशन गर्नुपर्ने समय रहे पनि मंसिरसम्म नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उहाँले बताउनु भयो । समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नविकरण गर्नुपर्ने उहाँको भनाइ छ । मंसिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाइ लागू गर्न उहाँले माग गर्नुभयो । 

वर्तमान अवस्थालाई मध्यनजरगरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने उहाँले माग गर्नुभयो । हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको गुनासो गर्दै अविलम्व निर्वाचन समिति विस्तार गरी पूर्णता दिनुपर्ने, आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारू, मधेसी, मुश्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने माग नेता जबराको छ । 

उहाँले अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेसिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्न माग गर्नुभयो । उहाँले संविधान संसोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाइ स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्न पनि माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.