
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग चैत ३० गतेबाट सुरू गर्ने सहमति भएपछि नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ-एन्फा मुख्यालयमा गरेको तालाबन्दी खोलिएको छ ।
एन्फा महासचिव किरण राईसहितका पदाधिकारी र खेलाडी संघबीचको वार्तापछि मुख्यालयमा लगाइएको ताला खोलिएको हो । दुवै पक्षबीच 'ए' डिभिजन लिग आगामी चैत ३० गतेबाट सुरू गर्ने सहमति भएको हो । यसका साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने पनि सहमित भएको छ ।
खेलाडीहरूको सेवा-सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम पनि चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको बताइएको छ । पछिल्लो संस्करणको 'ए' डिभिजन लिग विसं २०७९ मा सम्पन्न भएको थियो । त्यसयता प्रतियोगिताको नयाँ संस्करण सुरु हुन सकेको छैन ।
यसैबीच नेपाली व्यासायिक क्लबहरुले आफैं गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै एन्फाको ध्यानाकर्षण गराएका छन् ।