एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङदीकाे तेस्रो जित

फाल्गुन २६, २०८२ |खेल ब्युरो
एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङदीकाे तेस्रो जित

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित हात पारेको छ । 

मंगलबार सम्पन्न खेलमा मनाङले चित्लाङ फुटबल क्लबविरुद्ध २-० गोल अन्तरको जित हात पारेको हो । एन्फा कम्प्लेक्स सादोबाटोमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मनाङले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । 

२८औं मिनेटमा मनाङका नव राज गुरुङको भलि गोलरक्षक सन्तोष महतले विफल पारे । ३५औं मिनेटमा श्रयाब लो तामाङको प्रहार पनि सन्तोषले बिफल पार्दा मनाङले डेडलक टोड्ने अवसर गुमायो । पहिलो हाफमा बारम्बार प्रयास गर्दा पनि गोल गर्न नसकेको सैलेश कर्माचार्यको टोलीले दोस्रो हाफमा भने दुई गोल गर्यो ।

४९औं मिनेटमा श्रयाबले गोल गर्दै मनाङलाई खेलमा अग्रता दिलाए। इन्जुरी समयमा सुमित मल्लले गोल गर्दै मनाङको जित सुनिश्चित गरे । यो खेलसँगै मनाङले आफ्नो तेस्रो जित हात पारेको छ । यता, चित्लाङले भने १० खेल्दा मात्र एक जित हात पारेको छ ।