विश्वको नजर नेपालमा : बालेन्द्र शाहको उदय र रास्वपाकाे बहुमतबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा

फाल्गुन २६, २०८२ |किरण पौडेल
विश्वको नजर नेपालमा : बालेन्द्र शाहको उदय र रास्वपाकाे बहुमतबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको विषय जसरी नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण कोशेढुंगाको रूपमा हेरिएको छ, उति नै विश्वजगतले उस्तै चासोका साथ यो परिणामलाई हेरेको छ। 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले आ-आफ्नै तरिकाले नेपालको निर्वाचनको परिणामलाई विश्लेषण गरेको देखिन्छ। जेन-जी आन्दोलन र त्यसपछि सुशीला कार्की नेतृत्वको सरकार गठन भएदेखि नै अन्तर्राष्ट्रिय मिडियामा नेपालका हेडलाइनहरु बढेका थिए। 

त्यसमा यहाँको चुनावले पनि प्राथमिकता पाइरहेको थियो। जेन-जी आन्दोलनपश्चात् नेपालको राजनीतिक संक्रमणको व्यवस्थापन कसरी हुन्छ भन्नेबारे धेरैको चासो देखिन्थ्यो भने कतिपयले भूराजनीतिक परिदृश्यलाई केन्द्रमा राख्दै आएका थिए। सँगै बालेन्द्र शाहको राजनीतिक अभिलाषा धेरैको समाचारको केन्द्रीय विषय बनेको थियो। 

अहिले रास्वपालाई प्राप्त बहुमतलाई धेरैले परम्परागत राजनीतिक दलहरु ढलेको हिसाबले समाचार बनाएका छन् भने धेरैले यसको केन्द्रमा बालेन्द्र शाहलाई नै केन्द्रमा राखेका छन्। यसमा पनि बालेन्द्र शाहको र्‍यापरको पृष्ठभूमिलाई फ्रेम गरेका छन्। दि न्युयोर्क टाइम्स, बीबीसीदेखि रोयटर्ससम्म बालेनकै र्‍यापर छविमा आकर्षित देखिन्छन्।

न्युयोर्क टाइम्सले नेपाली मतदाताले सुशासन र भ्रष्टाचारमुक्त शासनका लागि युवा नेतृत्व खोजेको लेखेको छ भने वाल स्ट्रिट जर्नलले नेपालमा युवा र्‍यापरको जितले परम्परागत राजनीतिको सिन्डिकेट तोडिएको र लगानीकर्ताका लागि नयाँ बजार र नीतिगत स्थिरताको संकेत दिएको लेखेको छ। 

बिबिसीले एक स्वतन्त्र मेयरबाट सुरु भएको बालेन शाहको यात्रा अब देशकै सर्वोच्च पदसम्म पुग्नुलाई दक्षिण एसियाकै अनौठो राजनीतिक घटनाका रुपमा प्रस्तुत गरेको छ । पश्चिमी देशका मिडियाले कतिपयले नेपालका युवाहरुको जित भन्दै अब देशले पनि जित्ने भन्दै समाचार लेखेका छन्। 

राजनीतिक स्थिरता र सुशासनका मुद्दाको पक्षमा जनमत आएको रुपमा नेपालको चुनावी परिणामलाई तिनले व्याख्या गरेका छन्। बेलायती अखबार दि गार्डियनले त पूर्व र्‍यापर बालेन्द्र प्रधानमन्त्री बन्न ठिक्क परेको भन्दै पुराना दलको पतन र बालेन्द्रको उदयलाई विश्वले अभूतपूर्व परिवर्तनको रुपमा चित्रण गरेको छ। 

पश्चिमका मिडियाहरु खासगरि निर्वाचनको परिणामले नेपालको लोकतन्त्रले पूनर्जिवन पाएको व्याख्या गरिरहेका छन्। यता भारतीय मिडियामा नेपाल र भारतका बीचको सम्बन्धमा चासो देखिन्छ। उसको सुरक्षा चासो र क्षेत्रीय प्रभावका बारेमा भारत सधैं चनाखो हुने गरेकोमा निर्वाचनको परिणामलाई त्यहि साँचोमा भारतीय मिडियाले राखेका छन्। 

जस्तै, टाइम्स अफ इन्डियाले बालेनको विजयलाई दिल्लीको अर्थमा जोड्न खोजेको छ। उसले नेपालमा बालेन्द्रको उदयले दिल्लीका लागि परम्परागत कूटनीति बदल्न र एक नयाँ, राष्ट्रवादी तथा व्यावहारिक सम्बन्धको आधार तय गर्ने अपेक्षा गरिएको उल्लेख गरेको छ।

हिन्दूले ३५ वर्षीय बालेन शाह नेपालको इतिहासमै पहिलो मधेसी र सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने निश्चित भएको कुरालाई प्रधानता दिएको छ। यसलाई उसले नेपालमा परम्परागत राजनीतिको अन्त्यका रूपमा व्याख्या गरेको छ। एसिया प्रशान्तका देशबाट प्रकाशित हुने अखबारहरु बालेन्द्र शाह र रास्वपालाई मध्यपन्थी दलको रुपमा व्याख्या गर्छन्। 

यो क्षेत्रका मिडियाले नेपालको चुनावी परिणामलाई रोचक राजनीतिक परिवर्तनको रुपमा लिएका छन्। जस्तै; जापानको दि जापान टाइम्सले र्‍यापरको नेतृत्वमा रहेको मध्यपन्थी दलले बहुमत पाएको र वर्षौंदेखिको गठबन्धन संस्कृतिको अन्त्य भएको उल्लेख गरेको छ।

चिनियाँ मिडिया भने नेपालको चुनावी परिणामका बारेमा व्याख्यात्मक छैनन्। जस्तै चिनिया समाचार एजेन्सी सिन्ह्वा नेपालमा शान्तिपूर्ण निर्वाचनको प्रशंसा गर्दै चीनले दिएको बधाइको बारेमा समाचार लेख्छ। वामपन्थी दलहरुको पराजयका विषयमा भने सचेतता पूर्वक उल्लेख गरिएको छ। साउथ चाइना मर्निङ पोस्टले भने बालेन नेतृत्वलाई अब बेइजिङ र दिल्ली दुवैसँग कुटनीतिक सन्तुलन कायम गर्नुपर्ने चुनौतीबारे उल्लेख गर्छ। 

चिनियाँ मिडियाले क्षेत्रीय स्थिरता र फेरि पनि कनेक्टिभीका विषयमा नेपाल-चीन सहकार्यबारे सरोकार राखिएको देखिन्छ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।