जोनाथनको ह्याट्रिकसँगै लिगको मच्छिन्द्र शिर्ष स्थानमा

फाल्गुन २६, २०८२ |खेल ब्युरो
जोनाथनको ह्याट्रिकसँगै लिगको मच्छिन्द्र शिर्ष स्थानमा

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातौं जित दर्ता गरेको छ । 

मछिन्द्रले नव जनजागृति युवा क्लबविरुद्ध ४-० गोल अन्तरको एकपक्षीय जित हात पारेको हो । मछिन्द्रको जितमा जोनाथन क्यान्टीलानाले ह्याट्रिक पुरा गरे । नव जन जागृतिको भने यो लगातार नवौं हार हो । उसले हालसम्म जितको खाता खोल्न सकेको छैन ।

आक्रामक प्रदर्शन गरेको मछिन्द्रले सुरुवाती १० मिनेटमै अग्रता बनाएको थियो । उसका लागि क्यान्टीलानाले डेडलक तोडेका थिए । पहिलो हाफमा मछिन्द्रले थप अवसर बनाए पनि जागृतिका गोलरक्षक बाधक बने । पहिलो हाफमा १-० ले पछि परेको चेतनारायण श्रेष्ठको टोलीले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन । 

खेलको ५०औं मिनेटमा क्यान्टिलानाले व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले २-० गोलको अग्रता बनायो । ६२ औं मिनेटमा रेजिन सुब्बाले तेस्रो गोल थपेपछि मछिन्द्रले अग्रता थप फराकिलो बनायो । खेलको ८१ औं मिनेटमा क्यान्टीलानाले ह्याट्रिक पूरा गरेपछि मछिन्द्रले ४-० को फराकिलो जित हात पार्यो ।

यससंगै मछिन्द्रले ९ खेलमा ७ जितसहित २२ अंक जोडेको छ । अंकविहीन नव जन जागृति भने तालिकाको पुछारमा छ ।