
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा आगामी नेतृत्व कसको भन्ने बहस हुन थालेको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी चलिरहँदा शीर्ष नेताहरु नेतृत्व हत्याउने कसरत गर्न थालेका छन् । एमालेमा यसपटक केपी शर्मा ओली र पू्र्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहबीच कडा प्रतिस्पर्धा हुने पक्कापक्की जस्तै छ । भण्डारी समूहबाट ईश्वर पोखरेलले ओलीलाई चुनौती दिने देखिन्छ । कस्तो तयारी छ त ११ औं महाधिवेशनमा भण्डारी पक्षको तयारी ?
पू्र्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सदस्य बन्न रोकेपछि ११औं महाधिवेशनबाट अध्यक्ष बन्ने उहाँको सपना समाप्त भयो । तर, महाधिवेशनमा उहाँ संरक्षकत्वको टिम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खडा हुने भएको छ, जसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने हुनुभएको छ ।
महाधिवेशनमा आफ्नै समूह बनाउने कसरत गरिरहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेललाई बहुमत पदाधिकारीले साथ दिने देखिन्छ । स्रोतका अनुसार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव योगेश भट्टराई महासचिवका लागि प्रयासरत छन् । ओलीको विकल्प खोज्नुपर्ने मत राख्नेहरुमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली छन् भने रामबहादुर थापा र विष्णु पौडेल अनिर्णित छन् । सचिवालयका एक मात्र उपाध्यक्ष गुरु बराल ओलीको साथमा हुनुहुन्छ ।
तर पोखरेललाई नेतृत्व हत्याउन त्यति सजिलो छैन । मंसिर १३ गते देशभरबाट छनोट हुने महाधिवेशन प्रतिनिधिमध्ये ५० प्रतिशतभन्दा बढीले पोखरेललाई विश्वास गरेको खण्डमा मात्रै उहाँ ११ औं महाधिवेशनपछि अध्यक्ष बन्ने सम्भावना रहन्छ । अहिले प्रतिस्पर्धामा उत्रन लाग्नुभएको पोखरेल यसअघि सधैं नेतृत्वको समदुरीमा रहेर काम गर्ने नेताका रुपमा चिनिनुहुन्छ । उहाँ पार्टीको ९औं महाधिवेशनमा माधव नेपाल समूह त्यागेर ओलीको समूहबाट महासचिव निर्वाचित हुनुभएको थियो भने ओलीले नै नेकपाको सातौं वरियताको नेता बनाउनुभएको थियो । ५ वर्षअघि चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट पनि वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभयो । तर पछिल्लो समय भण्डारीलाई पार्टीमा भित्र्याउन जोडबल गर्नुभएका पोखरेल ओलीको आलोचक बन्नुभएको छ र उहाँलाई नै विस्थापित गर्ने प्रयासमा लाग्नुभएको हो ।