
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली राजस्थानसँग पराजित भएको छ ।
आज सम्पन्न खेलमा राजस्थानले नेपाललाई छपन्न रनले पराजित गरेको हो । आयुष क्रिकेट एकेडेमी, देहरादूनमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रनको योगफल तयार पारेको थियो । उसका लागि डिम्पल शेखावतले सर्वाधिक छयानलिस रनको योगदान दिए । भाविनी छत्तिस रनमा आउट भइन । यानाले अविजित ३० रन बनाइन् । नेपालका लागि लक्ष्मी साउदले २ तथा कविता कुँवर, ईश्वरी विष्ट र मनिषा उपाध्यायले समान १-१ विकेट लिए ।
१ सय ४५ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा सबै विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि साना प्रवीनले सर्वाधिक ३१ रन जोडिन् । विन्दु रावल १२ र रुबिना क्षेत्री १७ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानका लागि अर्चना योगीले ३ विकेट हात पारिन् ।
चार टोली सम्मिलित प्रतियोगितामा नेपालसहित भारतका ३ प्रदेशका टोली सहभागी छन् । नेपालले आफ्नो दोस्रो खेलमा भोलि उत्तराखण्डसँग प्रतिस्पर्धा गर्ने छ ।