
काठमाडौं । ८० हजार जनशक्ति भएको नेपाल प्रहरीको नेतृत्व सम्हालेका महानिरीक्षक दानबहादुर कार्की सामु चुनौतीसँगै महत्वपूर्ण अवसर पनि छ । उहाँको सबैभन्दा ठूलो कार्यभार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गर्न सुरक्षा व्यवस्था मिलाउनुपर्ने छ । त्यसबाहेक जेन–जी आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल बलियो बनाउँदै प्रहरी संगठनभित्र हुने गरेको राजनीतिक हस्तक्षेप रोक्नुपर्ने छ ।
महानिरीक्षक दानबहादुर कार्कीले २९ महिनासम्म नेपाल प्रहरीको नेतृत्व गर्नुहुने छ । यो बीचमा महानिरीक्षक कार्कीले अनेकौं चुनौती चिर्नुपर्ने छ । फागुन २१ गते हुने चुनावका लागि सुरक्षा व्यवस्था मिलाउनु मात्र होइन, अहिलदेखि नै नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउनुपर्ने छ । जेन-जी आन्दोलनपछि नागरिकले अझै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिको महसुस गर्न पाएका छैनन् । भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्नुपर्ने छ । प्रहरीका लुटिएका हतियार फिर्ता ल्याउनुपर्ने चुनौती छ ।
अहिले पनि सडकमा छिटपुट प्रदर्शन हुने गरेका छन् । ती प्रदर्शन भड्किन नदिन प्रहरी संगठनलाई संयमित बनाउनुपर्ने दायित्व महानिरीक्षकको हो । जेन–जी आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल बढाउँदै अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने छ । प्रहरी र नागरिकबीच विश्वासको वातावरण बनाउँदै समाजमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ ।
त्यसो त नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै संगठनभित्रै असन्तुष्टि देखिने गरेको छ । महानिरीक्षक कार्कीले कसैलाई पनि काखा–पाखा नगरी संगठनलाई एकढिक्का बनाएर राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने जिम्मेवारी छ ।
प्रहरीमा ३० बर्से सेवाअवधिका कारण महानिरीक्षकहरु छोटो समयमै अवकाशमा जाने गरेकोमा कार्कीले २९ महिनासम्म नेतृत्वको अवसर पाउनुभएको छ । यो बेला संगठनमा आन्तरिक सुधार गर्ने, पदोन्नति, सरुवा र पुरस्कार प्रणाली न्यायसंगत बनाउने, अनुशासन र क्षमतावान अधिकृतलाई प्रोत्साहित गर्ने जिम्मेवारी पनि कार्कीको काँधमा छ । अपराध अनुसन्धान र कमाण्डमा अब्बल मानिएका कार्कीको काँधमा प्रहरीलाई साइबर र नयाँ अपराध अनुसन्धानमा सिङ्गो संगठनलाई दक्ष बनाउँदै स्रोतसाधन सम्पन्न बनाउने जिम्मेवारी पनि छ । अहिले देखिएका चुनौतीलाई सहज पार लगाउनु महानिरीक्षक कार्कीका लागि अवसर पनि हो ।