नेपाली कांग्रेस एक महिनादेखि अनिर्णयको बन्दी, विश्वासको संकटसमेत चुलियो

कार्तिक २७, २०८२ |प्रकाश बम
नेपाली कांग्रेस एक महिनादेखि अनिर्णयको बन्दी, विश्वासको संकटसमेत चुलियो

काठमाडौं । नेपाली कांग्रेसको एक महिनादेखि जारी केन्द्रीय समिति बैठक अनिर्णित बनेको छ । जेन-जी आन्दोलनपछि राजनीतिक दलहरुमा उठेको रुपान्तरण, पुस्तान्तरण र पुनर्गठनको बहसले कांग्रेसलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको हो । फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा विभाजित हुँदा कांग्रेस अनिर्णयको बन्दी मात्र बनेको छैन, पार्टीभित्र विश्वासको संकटसमेत चुलिएको छ ।

गत असोज २८ गते सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर हिँडेपछि कांग्रेसले कुनै पनि निर्णय गर्न सकेको छैन । एक महिनासम्म बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको कार्यतालिकालाई लिएरै विवाद भएको छ । महाधिवेशन फागुन २१ को चुनावअघि कि पछि भन्ने विवादमै नेताहरु भुलिइरहँदा बैठकले स्पष्ट निर्णय गर्न नसकेको हो ।

प्रतिस्पर्धी दल नेकपा एमालेले मंसिर अन्तिममा महाधिवेशन गर्ने भनेर तयारीसमेत सुरु गरिसकेको छ । तर कांग्रेसका नेताहरुले आफ्नो स्वार्थअनुसार महाधिवेशनलाई प्रयोग खोजिरहेका छन् । महाधिवेशन गर्न क्रियाशील सदस्यता विवाद जटिल छ । वडादेखि केन्द्रीय कार्यसमितिमा आउन क्रियाशील सदस्यता हुनैपर्छ । तर सदस्यता नवीकरण र नयाँ वितरण नै टुंगो लागेको छैन ।

कांग्रेसले क्रियाशील सदस्यता टुंगो लगाउन एक वर्षअघि अर्थात् २०८१ कात्तिक १४ गते महामन्त्री गगन थापाको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । तर महामन्त्री थापा नेतृत्वको समितिले काम नै गर्न सकेको छैन । बरु जिम्मेवारी पूरा नगरी थापाले आफ्ना मुद्दा स्थापित गर्न विशेष महाधिवेशनको रटान लगाइरहनुभएको छ । न त उहाँले केन्द्रीय समिति बैठकबाट नै निर्णय गराउन सक्नुभएको छ । आफ्नो अक्षमतालाई ढाकछोप गरी जसरी पनि नेतृत्व हत्याउने हठ देखाउँदा पार्टी नै अनिर्णिय बनेको हो ।

अर्कोतर्फ कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले पनि आन्तरिक विवाद समाधान गर्न सक्नुभएको छैन । महामन्त्री र अरु शीर्ष नेताहरुलाई मिलाएर निकास दिन नसकेपछि खड्काको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ । कांग्रेसमा चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने बहसको मूल कारण टिकट वितरण नै हो । चुनावअघि विशेष वा नियमित महाधिवेशन गराएर आफू नेतृत्वमा पुग्ने र आफूअनुकूल उम्मेदवारको टिकट वितरण गर्ने दाउ महामन्त्री थापाको छ । अर्कोतर्फ थापा नेतृत्वमा पुगेमा आफू र आफू निकटले चुनावमा टिकटसम्म नपाउने भय पूर्वदेखि वर्तमान पदाधिकारीसम्मै छ ।

विभिन्न बहानामा महाधिवेशनको निर्णय टार्दै फेरि देउवालाई नै सक्रिय बनाउने योजना पनि कतिपयको छ । पार्टीमा ४० प्रतिशत शक्ति सञ्चय गरेर बसेका नेता शेखर कोइराला स्वयम् सभापतिका आकांक्षा हुनुहुन्छ । उहाँ अहिलेको विवादमा मध्यमार्गी बाटो खोजिरहनुभएको छ । महामन्त्री र संस्थापन पक्षलाई मिलाएर चुनाव अघि महाधिवेशन गराउने प्रयासमा लाग्नुभएको छ । कुनै पनि पक्षलाई नचिढ्याउने नीति लिँदा पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न भने उहाँ चुक्नुभएको छ ।

केन्द्रीय समितिको बैठक जारी रहेका बेला पनि कांग्रेसभित्र दिनदिनै जस्तो गुट र उपगुटका भेला भइरहेका छन् । ती भेलामा आएका सुझाव भन्दै आ-आफ्नो समूहको नेतृत्वलाई दबाब दिइरहँदा पनि कांग्रेस संकटको भूमरीमा फसेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।