विश्वास र अविश्वासको खेलले पटक-पटक हार्दै मधेश प्रदेश, २५ दिनमै ढल्यो सोनलको सरकार

समर्थन गरेका दलले नै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीबाट राजीनामा
कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वास र अविश्वासको खेलले पटक-पटक हार्दै मधेश प्रदेश, २५ दिनमै ढल्यो सोनलको सरकार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदबाट राजीनामा दिनुभएको छ । 

शनिबार साँझ विश्वासको मत लिन प्रदेशसभा पुग्नु भएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिनुभएको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहबर अन्सारी र माला कर्णले पक्ष-विपक्षमा मतदान नगर्ने उद्घोष गरेसँगै प्रदेश सभामा उहाँले मत नपाउने निश्चित भएको हो । 

सोनल सरकारलाई ५३ मत आवश्यक पर्दथ्यो । तर, सोनललाई मात्र ५२ मत आउने देखिएपछि उहँले राजीनामा दिनुभएको हो । सोनल गत असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । मधेश प्रदेश सभामा हाल एक सय चार सदस्य छन् । 

चार जना प्रदेशसभा सदस्य शनिबार अनुपस्थित थिए । यसअघि आजै मुख्यमन्त्री सोनलले सबै प्रदेशसभा सदस्यलाई एक ढिक्का भएर मत दिन अनुरोध गर्नुभएको थियो । मधेश प्रदेशका सांसद रहबर अन्सारीले सबै दल र सांसदहरूको नैतिक धरातल सकिएको भन्दै आफैंले आफैंलाई मुखमा कालोमोसो दलेर विरोध जनाउँदै उहाँले पक्ष-विपक्षमा मत नदिने बताउनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.