छिन्नभिन्न भयाे एकीकृत समाजवादी

कार्तिक १९, २०८२ |प्रकाश बम
छिन्नभिन्न भयाे एकीकृत समाजवादी

काठमाडौं । नेकपा एमालेको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ४ वर्षअघि पार्टी नै विभाजन गरी गठन भएको नेकपा एकीकृत समाजवादी अहिले तीन टुक्रामा विभाजित भएको छ । 

पार्टी विभाजन गरी एकीकृत समाजवादी गठनमा सहभागी नेताहरुले एमालेको नीति र नेतृत्वको चर्को आलोचना मात्र गरेका थिएनन् अब आफूहरू नै कम्युनिस्ट पार्टीको मूल धार भएको दाबी गरेका थिए । तर चार वर्षमै एकीकृत समाजवादी तीन टुक्रा मात्र भएको छैन कतिपय नेता त आफूले विभाजन गरेकै दल एमालेमा नि:सर्त फर्कन तयार देखिएका छन् ।

२०७८ साल भदौ २ गते नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठनमा सक्रिय भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री अब फेरि पुरानै पार्टीमा फर्कने तयारीमा लाग्नुभएको छ । जबकी एमालेमा विद्रोह गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेतृ झाँक्रीले माधवकुमार नेपालको हातै समातेर निर्वाचन आयोगमा पुग्नुभएको थियो । तर अहिले अध्यक्ष नेपालले पार्टीलाई माओवादी केन्द्रमा एकता गराइदिएपछि झाँक्री आत्मालोचनासहित एमालेमा फर्किने मनस्थितिमा पुग्नुभएको छ ।

पार्टी विभाजनका बेला सक्रिय र महत्वपूर्ण भूमिका खेलेका नेता कृष्णकुमार श्रेष्ठ त नि:सर्त एमालेमा फर्किने घोषणा गरिसक्नुभएको छ । जबकी उहाँले पार्टी फुटाउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र पार्टी सञ्चालन विधिप्रति फरक मत राख्नुभएको थियो । आफ्नो विद्रोहले सार्थकता नपाएपछि उहाँ सम्मानजनक व्यवहार भइदिए हुने भन्दै मूल घरमै फर्कन लाग्नुभएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गराइदिएपछि असन्तुष्ट झाँक्री र श्रेष्ठ मात्र होइन पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठसहित एकीकृत समाजवादीका धेरै केन्द्रीय सदस्यहरू नै एमालेमा जान तयार देखिएका हुन् । 

एमालेले सम्मानजनक स्थान देओस् भन्ने चाहना मात्र उनीहरुको छ । तर एमाले महासचिव शंकर पोखरेलले विगतमा सँगै काम गरेकाहरूलाई फर्कन कुनै सम्झौता गरिरहनु नपर्ने बताउनुभएको छ । बरू पार्टीमा फर्किन नीति र नेतृत्वको आलोचना गर्न नपाइने सर्त उहाँको छ ।

त्यसो त एमाले छाडेर एकीकृत समाजवादीतिर लागेका मुकुन्द न्यौपाने, केदार न्यौपानेसहित ४० भन्दा बढी केन्द्रीय नेताहरू र १५ भन्दा जति जिल्ला अध्यक्षहरु यसअघि नै एमालेमा फर्किएका थिए । अझै घनश्याम भुसाललगायतका केही नेता छुट्टै दल बनाउने गृहकार्यमा छन् । 

कम्युनिष्ट पार्टीभित्र केही मुद्दामा असहमत राख्ने सहकर्मीलाई जन्मजात शत्रुलाई झैं गाली गर्नु र दल विभाजन गर्नु अनौठो होइन । तर आफू अप्ठ्यामा परेको अवस्थामा एकाएक मिल्न सक्ने सामर्थ्य पनि राख्दछन । तर हिजो एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट नेता अहिले विनासर्त ओली नेतृत्वमै रहेका बेला ओत खोजिरहेका छन् । त्यति हुँदा पनि उनीहरुसँग हिजो के कारण छुट्टिनुपर्‍यो र आज किन फर्कनुपर्‍यो भन्ने स्पष्ट जवाफ छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।