नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन : उपसंयोजक नेपाल

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन : उपसंयोजक नेपाल

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरूसँग पार्टी एकता गर्नुपरेको बताउनु भयो । उहाँले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरूमा इमानदारीता, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गर्नुभयो । 

उहाँले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले विगतको वाम एकताको प्रयासमा संलग्न रहेका अधिकांश नेताहरू यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गर्नुभयो ।

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले समाजवादी मोर्चालाई समेत सँग-सँगै अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.