
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।
काठमाडौंको प्रज्ञा भवनमा मंगलबार बसेको पार्टी महाधिवेशन आयोजक समितिको बैठकमा नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा संयोजक पुष्पकमल दाहालले ८ पार्टीबीचको एकताले देशभित्र र बाहिर पनि सकारात्मक सन्देश गएको दाबी गर्नुभयो । बुधबारदेखि नै नयाँ यात्राको प्रारम्भ हुने बताउँदै दाहालले मंसिरभित्र एकता महाधिवेशन सम्पन्न गर्ने घोषणा गर्नुभयो ।
उहाँले एकताका लागि एमालेका पूर्वउपाध्यक्ष भीम रावलसँग सकारात्मक कुरा भैरहेको जिकिर गर्नुभयो । माओवादी केन्द्रले एकताको प्रस्तावको बैठक गरिरहँदा पार्टीबाट बाहिरिएका उपमहासचिव जनार्दन शर्माले भने नयाँ शक्तिको घोषणा गर्नुभएको छ ।
ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले नयाँ समाजवादी र प्रगतिशील बाटोमा अघि बढ्ने घोषणा गर्नुभयो। माओवादी र एकीकृत समाजवादीबीचको एकताले मुलुकलाई निकास दिन नसक्ने उहाँको दाबी छ ।
शर्मासँगै नेता राम कार्की पनि माओवादी र एकीकृत समाजवादीबीचको एकताबाट बाहिरिनुभएको छ । पत्रकार सम्मेलनमा नेता कार्कीले कम्युनिष्ट आन्दोलन विघटन भैसकेको दावी गर्दै भष्टाचारको अभियोग लागेका नेताहरू टाउकोमा कल्की झुण्ड्याएर हिडेको आरोप लगाउनुभयो ।