हिमपहिरोमा परेर मृत्यु भएकाहरूको शव सङ्कलनमा कठिनाइ

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
हिमपहिरोमा परेर मृत्यु भएकाहरूको शव सङ्कलनमा कठिनाइ

दोलखा । दोलखाको रोल्वालिङ हिम श्रृङ्खलाअन्तर्गतको यलुङ रि हिमालको बसेक्याम्पमा हिमपहिरोमा परेर मृत्यु भएकाहरूको शव सङ्कलनमा कठिनाइ भएको छ । 

हिमपहिरोमा परेका पाँच जनाको शव अझै निकाल्न नसकिएको हो । दुई जना पथ प्रदर्शकको शव निकालिएको र हिमपहिरोमा परेका पाँच जना विदेशीको शव अझै निकाल्न नसकिएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो। हिमपहिरोमा परेकाहरूको पहिचान भने खुलेको छ। 

मृतकहरू सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका-५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका-९ का पदम तामाङ रहेको प्रहरीले जनाएको छ । दुई जना इटालियन आरोहीसहित फ्रान्स, क्यानडा र जर्मनीका एक-एक जनाको हिमपहिरोमा परी मृत्यु भएको खुलेको छ । 

हिमपहिरोमा परी गम्भीर घाइते भएका दुई विदेशी र दुई नेपाली गरी चार जना आरोहीको आज बिहान हवाई उद्धार भएको हेली एभरेष्टका निर्देशक मिङमा शेर्पाले जानकारी दिनुभयो । यस्तै आरोहणमा सहभागी अन्य तीन फ्रान्सेली र तीन जना नेपालीको 'ना' गाउँबाट उद्धार गरिएको छ । 

उनीहरूको अवस्था सामान्य छ । ५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि ८ विदेशी आरोही र ७ नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । आरोहणका क्रममा मध्य भागभन्दा केही माथि पुगेपछि हिजो बिहान करिब ८ बजे हिमपहिरोले उनीहरूलाई पुरेको थियो । 

हेलिकप्ट प्रतिबन्धित क्षेत्र भएकाले स्वीकृतिमा ढिलाइ हुँदा हिमपहिरोमा परेकाहरूको हिजो उद्धार हुन सकेको थिएन । आरोहणमा सहभागी घाइतेका अनुसार ६ हजार ३ सय ३४ मिटर उचाइको डोल्मा खाङ हिमाल आरोहणका लागि यो टोली गएको थियो । त्यसअघि टोलीले यलुङ रि चढ्ने तालिका थियो । कात्तिक ११ गते आरोहणका लागि हिँडेको टोली खराब मौसमका कारण ना गाउँमा बास बसेर यलुङ रि बेसक्याम्प पुगेको थियो ।

उता गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित पाङबारी पिक हिमाल आरोहणका क्रममा हिउँमा फसेर मृत्यु भएका दुई जना इटालियन नागरिकको शव काठमाडौं ल्याइएको छ । खोज तथा उद्धारकर्ता टोलीले मृत फेला पारेका ५१ वर्षीय फारोनाटो स्टेफानो र २८ वर्षीय क्यापुटो एलेसान्द्रोको शव हेलिकोप्टरमार्फत आज काठमाडौं ल्याइएको हो । 

गत असोज २९ गते पाङबोचेस्थित ताजुङ भन्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ जना इटालियन र ३ नेपाली त्यसतर्फ गएका थिए । तर अत्यधिक हिमपात भएपछि उनीहरू फसेका थिए । फसेकामध्ये ५ हजार ५ सय मिटर उचाइमा रहेको बेसक्याम्पमा रहेका इटालियन नागरिक र उनीसँग रहेका पेम्बा दोर्जी शेर्पा, दाबा छिरी शेर्पा र पासाङ तामाङलाई भने कात्तिक १६ गते सकुशल उद्धार गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.