
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिबारे किचलो बढ्दै जाँदा संस्थापन र महामन्त्री पक्षधर समूहले अलग-अलग कार्यतालिका पेस गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ र देखि १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका प्रस्तुत गर्नुभएको छ । उहाँले केन्द्रीय समितिले निर्णय नगरेमा विशेष महाधिवेशनमा जानुपर्ने बाध्यात्मक स्थिति रहेको पनि बताउनुभयो ।
महामन्त्री थापाले बोलेपछि संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने अर्को कार्यतालिका पेस गर्नुभयो । जेन-जी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे विवाद चल्दै आएको छ । विभिन्न समूहले दबाबका लागि भेलाहरू पनि आयोजना गर्दै आएका छन् ।