
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक रहेको बताउनुभएको छ ।
कतारको दोहामा सुरू भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उहाँले न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धताको कार्यान्वयन, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको आवश्यकता रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय समुदायले अति कम विकसित मुलुकहरूको विकास प्रयासलाई सघाउन ठोस कदम चालेमात्र शिखर सम्मेलन अर्थपूर्ण हुने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असमानुपातिक प्रभावले नेपालको सामाजिक–आर्थिक विकासको यात्रामा समस्या सिर्जना गरेको पनि उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेल र राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसबीच आजै दोहामा भेटवार्ता पनि भएको छ । उक्त अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।
भेटवार्तामा महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्रसंघ लागिरहेको बताउनुभयो । राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै सोमबार दोहा पुग्नुभएको हो । उहाँ कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ ।