काठमाडौं । नेपालका कम्युनिष्ट नेताहरूमध्ये सफलतम् केही नेतामध्ये एक हुन् पुष्पकमल दाहाल ।
आम रूपमा 'प्रचण्ड' नामले परिचित दाहाललाई कतिले उहाँको पुरानो नाम छविलाल भनेर पनि पुकार्छन्। त्यसो त भूमिगत कालमा उहाँलाई कल्याण, विश्वास र निर्माण नामले पनि चिनिनुहुन्थ्यो । दाहालले आफ्नो जीवनकालमा जति नाम फेर्नुभएको छ, त्योभन्दा बढी उहाँले आफ्नो दलको नाम फेर्नुभएको छ।
सत्ता र शक्तिप्रतिको प्रेमले नै उहाँ राजनीतिको केन्द्रमा रहनुहुन्छ। त्यसका लागि उहाँ नाममात्र होइन, कार्यनीति र विचारमा समेत सम्झौता गर्न पछि पर्नुहुन्न। खासमा यो अस्थिरता हो, तर यो चरित्रलाई दाहाल स्वयं र उहाँका समर्थकहरू भने गतिशीलको रूपमा व्याख्या गर्ने गर्दछन्।
आफूलाई फेरि शक्तिमा टिकाइ राख्न अहिले उहाँले माओवादी केन्द्रले मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै आएको माओवाद र चुनाव चिह्न नै परिवर्तन गर्नुभएको छ । र, बनाउनु भएको छ- नेपाली कम्युनिष्ट पार्टी, चुनाव चिन्ह तारा । १० वर्षे सशस्त्र विद्रोह गर्दै शान्तिपूर्ण राजनीतिमा आएका र ३७ वर्षदेखि पार्टीको नेतृत्व गरिरहेका पुष्पकमल दाहालले ५ पटक त पार्टीको नाम नै परिवर्तन गरिसक्नुभएको छ ।
नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीसहितका ९ दलबीच एकता गर्ने सहमतिमा हस्ताक्षर गर्दा मार्गदर्शक सिद्धान्त माओवादसमेत त्याग्न उहाँ तयार हुनुभयो । चुनाव चिह्नसमेत परिवर्तन गर्न पनि सहमत हुनुभयो । अब मार्क्सवाद र लेनिनवाद मात्र राख्ने सहमति गरेर उहाँले माओवाद त्याग्नुभयो ।
२०६४ सालदेखि माओवादी केन्द्रले लिँदै आएको गोलाकारभित्रको हँसिया-हथौडा चुनाव चिह्नको सट्टा तारा राख्ने सहमति ९ दलभित्र भएको छ । दाहाललाई नजिकबाट चिन्नेहरू मार्गदर्शक सिद्धान्त, पार्टीको नाम र चुनाव चिह्न नै परिवर्तन गर्न दाहाल सहमत हुनुलाई उहाँको प्रवृत्तिका रूपमा व्याख्या गर्दछन्।
विश्लेषकहरू सजिलै भन्छन्- शक्तिमा रहन दाहाल जुनै कदम चाल्न पनि पछि नपर्ने नेताका रूपमा चिनिनुहुन्छ । २०४३ सालमा तत्कालीन नेकपा मशालको नेतृत्वमा आएका दाहालले २०४८ सालमा पहिलो पटक पार्टीको नाम परिवर्तन गरी नेकपा एकता केन्द्र बनाउनुभएको थियो ।
२०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने विषयमा पार्टी विभाजन हुँदा उहाँले दोस्रो पटक पुनर्गठन गरी नेकपा माओवादी बनाउनुभयो । दाहालकै नेतृत्वमा २०५२ साल फागुन १ गते १० वर्ष सशस्त्र विद्रोह भयो । २०६२ साल मंसिर ७ गते संसदवादी सात दलबीच १२ बुँदे सम्झौता भएपछि दाहाल शान्तिपूर्ण राजनीतिमा आउनुभयो ।
२०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६५ सालमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता हुँदा तेस्रो पटक पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखिएको थियो । २०७४ सालमा गणेश शाह नेतृत्वको नेकपा संयुक्तसँग एकता हुँदा चौथो पटक पार्टीको नाम परिवर्तन भयो र नेकपा माओवादी केन्द्र राखियो ।
त्यसपछि २०७५ सालमा तत्कालीन नेकपा एमालेसँग एकतापछि पार्टीको नाम नेकपा राखियो । २०७७ सालमा नेकपा विघटन भएपछि माओवादी केन्द्र पुनर्गठन गर्नुभएका दाहालले त्यसको पाँच वर्षपछि फेरि पार्टीको नाम परिवर्तन गर्ने सहमति गर्नुभएको छ ।
त्यति मात्र होइन, नेकपा माओवादी गठन गरेको ३० वर्षमा दाहालले २०७५ साल र अहिले गरी दुई पटक त माओवाद विचारधारा नै परित्याग गर्नुभएको छ । २०६४ सालदेखि प्रयोग गर्दै आएको चुनाव चिह्नसमेत हटाउने निर्णय गरेर उहाँले माओवादमा आस्था राख्ने आफ्ना नेता तथा कार्यकर्तालाई निराश पार्नुभएको छ ।
जेन-जी विद्रोहपछि परम्परागत राजनीतिक दल कमजोर हुने विश्लेषण भइरहेका बेला दाहालले आफूलाई फेरि शक्तिको रूपमा उभ्याउन गर्नुभएका यी सबै प्रयास कति सार्थक हुन्छन् भन्ने भविष्यले देखाउने छ । तर सँग-सँगै जुन विचारलाई अघि सारेर उहाँले यसअघि सशस्त्र संघर्ष गर्दै आफ्नो दललाई यहाँसम्म ल्याउनुभयो, त्यसप्रति आस्था राख्ने नेता कार्यकर्ताले कहिलेसम्म दाहाललाई साथ दिन्छन् ? भन्ने प्रश्न पनि उठेको छ ।