नेकपा माओवादी केन्द्र फेरि विभाजित

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेकपा माओवादी केन्द्र फेरि विभाजित

काठमाडौं । नेकपा माओवादी केन्द्र फेरि विभाजित भएको छ । 

पार्टीले अन्य दलहरूसँग एकतासम्बन्धी प्रस्ताव पारित गरिरहँदा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीसहितका नेताहरूले माओवादी छाडेका छन् । काठमाडौंको प्रज्ञा भवनमा बसेको पार्टी माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति बैठकले ९ पार्टीबीचको एकता प्रस्ताव अनुमोदन गरेको हो । 

नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा संयोजक पुष्पकमल दाहालले एकताले सकारात्मक सन्देश गएको दाबी गर्दै भोलिदेखि नै नयाँ यात्राको प्रारम्भ हुने बताउनुभयो । दाहालले मंसिरभित्र एकता महाधिवेशन सम्पन्न गर्ने र नयाँ दलको नाम नेपाली कम्युनिष्ट पार्टी रहने घोषणा गर्नुभयो ।

माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, सहित ९ दलबीच भोलि एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्य समिति गठन गर्ने तयारी छ । माओवादी केन्द्रले मंगलबार एकताको प्रस्ताव पारित गर्न बैठक गरिरहँदा पार्टीबाट बाहिरिएका उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले भने नयाँ शक्तिको घोषणा गर्नुभएको छ । 

ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरेर नेता शर्माले नयाँ समाजवादी र प्रगतिशील बाटोमा अघि बढ्ने घोषणा गर्नुभयो। माओवादी र एकीकृत समाजवादीबीचको एकताले मुलुकलाई निकास दिन नसक्ने उहाँको दाबी छ । पत्रकार सम्मेलनमा नेता कार्कीले माओवादी संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको दाबी गर्दै आफूहरूले नालायक नेतृत्वलाई हटाउन नसकेको स्वीकार गर्नुभयो । एकताकै विषयको विवादले एकीकृत समाजवादी विभाजित भैसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.