राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दै

दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने
कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज कतार प्रस्थान गर्दैहुनुहुन्छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो ।

कतारको राजधानी दोहामा भोलि देखि सुरु हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ २० गतेसम्म चल्नेछ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले भोलि कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो। सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 सामाजिक विकासका विषयमा केन्द्रित यो सम्मेलनले विश्वका देशबिच सहकार्य र साझा प्रतिबद्धता बलियो बनाउने अपेक्षा गरिएको छ। कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनु हुने कार्यतालिका छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.