ललितपुर । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरुले आफ्ना धारणा राखेर सकिने छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १ सय ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । आजको बैठकमा पोलिटव्यूरो,स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु रहेका छन् ।
बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिती,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरुको भूमिका आदिका बारेमाओलीले जवाफ दिनुहुनेछ ।
ललितपुरको भनी मण्डल स्थित रामबाघ महलमा तीन दिन अघि देखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेन जी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितीको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।
आजको बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले समसामयिक प्रस्तावहरु पनि प्रस्तुत गर्नु हुनेछ ।