
धनकुटा । गत असोज र कार्तिक तेस्रोसाताको वर्षाका कारण धनकुटामा करिब ४१ करोड ६८ लाख रूपैयाँ बराबरको बालीनाली नोक्सान भएको छ ।
वर्षासँगैको हुरीबतास, बाढी र डुवानका कारण धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको करिब १२ हजार ४ सय ४४ मेट्रिकटन धानमा क्षति पुगेको हो । धानबालीमा भएको क्षतिबाट करिब ४१ करोड ५२ लाख ९९ हजार रूपैयाँ नोक्सान भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
धनकुटाका सात स्थानीयतह मध्ये सबैभन्दा बढी क्षति पाख्रिबास, धनकुटा नगरपालिका र चौविसे गाउँपालिकाका किसानले व्यहोर्नु परेको छ । स्थानीयतहबाट प्राप्त तथ्याङक अनुसार ४ हजार ५ सय ३० काटिसकेको, पाकेर काट्नबाँकी ७ हजार ७ सय ९३, कलिलो ढलेको ४ र पाक्नबाँकी रहेको ८६ मेट्रिक टन हरियो धानमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।
धानपछि सबैभन्दा बढी कोदोबालीमा क्षति पुगेको छ । धनकुटाको करिब १३ हेक्टर क्षेत्रफलमा लगाइएको ३० मेट्रिकटन कोदोबाली पनि नोक्सान भएको रानाको भनाइ छ । अन्न, दलहन र तेलहनबालीमा भएको क्षतिको विवरण संकलन गरी निर्देशनालय मार्फत कोशी प्रदेश सरकारलाई पठाइएको केन्द्रले जनाएको छ ।