आगलागी नियन्त्रणको लागि दमकल खरिद गर्ने साँफेबगर नगरपालिकाकाे निर्णय

कार्तिक २९, २०८२ |खम्म खत्री
आगलागी नियन्त्रणको लागि दमकल खरिद गर्ने साँफेबगर नगरपालिकाकाे निर्णय

अछाम । अछामकाे साँफेबगर नगरपालिकाले आगलागी नियन्त्रणको लागि दमकल खरिद गर्ने निर्णय गरेको छ । 

नगरपालिकाको बैठकले आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो । दमकल (वारूण यन्त्र) खरिदका लागि बजेटको व्यवस्थापन समेत भइसकेको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।

नगर प्रमुख कुँवरले जिल्लामा बढ्दो आगलागी जोखिमलाई ध्यानमा राख्दै दमकल अत्यावश्यक बनेकाे बताउनुभयो । उहाँले सामूहिक प्रयास र व्यवस्थित तयारीका माध्यमबाट जनसुरक्षा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा, कार्यपालिकाको वैठकले हाटबजारका आगलागी पीडितलाई पाँच लाख रूपैयाँ उपलब्ध गराउने निर्णय पनि अनुमोदन गरेको छ ।

साँफे हाटबजारमा चालु वर्षकै वैशाख १३ र कात्तिक १५ गते दुई पटक ठूलो आगलागी हुँदा करोडौं रूपैयाँ बराबरको क्षति भएको थियो । नगरपालिकाको यो निर्णयले आगलागी जोखिम व्यवस्थापन र राहत सहयोग दुबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

दमकल खरिदमा छिमेकी पालिकाले पनि सहयाेय गर्ने जनाएकाे छ । जसअन्तर्गत चाैरपाटी गाउँपालिकाले २० लाख विनियाेजन गरेकाे अध्यक्ष भीमबहादुर साउदले जानकारी दिनुभयाे ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।