
जनकपुर । मधेश प्रदेशसभाका पाँच जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउत ईशरले उल्टाइदिनुभएको छ।
आफूविरूद्ध प्रदेशसभामा 'पदअनुकूल आचरण नगरेको भन्दै महाभियोग प्रस्ताव' दर्ता भएपछि सभामुख मण्डलले बिहिबार प्रदेशसभाका पाँच जना सदस्यलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको थियो । उपसभामुख ईशरले सभामुखले पदमुक्त गरेका प्रदेश सभा सदस्यहरूले कात्तिक २२ गते विश्वासको मतसम्बन्धी निर्णय गर्न बसेको बैठकमा भाग लिएको भिडियो र फोटोसमेत भएको भन्दै निर्णय उल्टाइदिनुभएको हो ।
लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपाका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारलाई पदमुक्त गर्नुभएको थियो । सभामुखविरूद्ध ७ दलका ७४ सांसदले पदअनुकूल आचरण नगरेको भन्दै महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्टम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै सात दलले 'सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव' दर्ता गरेका हुन् ।
महाभियोग प्रस्ताव दर्ता गराउन प्रदेश सभा पुगेका विभिन्न पार्टीका १५ जना भन्दा बढी प्रदेश सभा सदस्यलाई सभामुख मण्डल समर्थक एमालेका कार्यकर्ताहरूले केहीबेर प्रदेशसभा सचिवालयमै थुनेका थिए । पछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट निकालेको थियो ।
यसैबीच एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधान मिचेर मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै सात दलका नेता-कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन् । मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिका सडकमा सात दलका नेता-कार्यकर्ता धर्नामा बसेका हुन् ।