इंग्ल्यान्डका ओपनर ब्याटर जेसन रोय पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

कार्तिक २९, २०८२ |खेल ब्युरो
इंग्ल्यान्डका ओपनर ब्याटर जेसन रोय पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं । इंग्ल्यान्डका ओपनर ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएल खेल्ने भएका छन् ।

पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो । उनी एनपीएल खेल्ने टेस्ट टोलीका सबैभन्दा ठूला खेलाडीमध्ये एक हुन् । ३५ वर्षीय रोय दायाँ हाते ओपनरले इंग्ल्यान्डका लागि ६४ टी-२०आई मा ८ अर्धशतकसहित १५ सय २२ रन बनाएका छन् । समग्र टी-२० मा ४ सय १२ खेलको ४ सय ५ इनिङ्समा रोयले ६ शतक र ६९ अर्घशतकसहित १० हजार ५ सय ५४ रन बनाएका छन् ।

उनीसँग आईपीएल, विग ब्यासलगायत विश्व भरका प्रमुख टी-२० लिग खेलेको उनुभव छ । पोखराले यसअघि न्यूजिल्यान्डका अलराउन्डर जिमी निशमसहित वेस्ट इन्डिजका अलराउन्डर रेमन रेइफ तथा इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरिसकेको छ ।

ओपनर कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृतराज दास र दिनेश खरेललाई रिटेन गरेको थियो भने अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो । गत सिजन मात्र २ जित हात पारेको पोखराले तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेर लिग समाप्त गरेको थियो ।

दोस्रो संस्करणको एनपीएल सोमबारदेखि सुरू हुँदैछ । पोखराले मंगलबार विराटनगर किङ्ससँग खेल्दै सिजनको सुरूवात गर्नेछ ।