
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताउनुभएको छ ।
प्रदेशबासीका नाममा सम्बोधन गर्दै उहाँले राजनीतिक अस्थिरता र सात दलको आन्दोलनले आफूलाई सुरक्षा चुनौती बढेको बताउनुभएको हो । उहाँले आन्दोलन छाडेर सहमतिमा अघि बढ्न सात दललाई आह्वान पनि गर्नुभयो । उहाँले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था कायम गर्न पनि सबै सहमतिमा अघि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले आफ्नो नियुक्तिको विषयबारे मुद्दा सर्वोच्च अदालतमा रहेको हुनाले तत्काल आन्दोलन छाडेर प्रदेशमा शान्तिको वातावरण बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले भारतीय हस्तक्षेपले मधेशको राजनीति गिजोलिएको पनि बताउनुभयो ।असंवैधानिक तवरले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात दलले मुख्यमन्त्री यादवविरूद्ध जनकपुरमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।
उहाँको नियुक्तिविरूद्ध सर्वोच्चमा परेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । यसअघि सर्वोच्चले उहाँको नियुक्ति यथास्थितिमा राख्न आदेश दिँदै कुनै पनि दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । यस्तै भारतीय दूतावासको विरगञ्जस्थित महावाणिज्य कार्यालयका कर्मचारीले मधेशकाे राजनीतिमा हस्तक्षेप,पार्टी फुटाइदिने, जुटाइदिनेलगायत नेताहरूलाई दिँदै आएको धाक-धम्कीका कारण मधेश प्रदेशमा वर्तमान स्थिति उत्पन्न भएको मुख्यमन्त्री यादवले गम्भीर आरोप लगाउनुभएकाे छ ।