.png&w=1000&height=550)
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालय कटौती गरेर ८ वटा बनाएपछि उद्योग तथा वाणिज्य, संस्कृति तथा पर्यटन र श्रम रोजगार तथा यातायात एउटै मन्त्रालयमा गाभिएका छन् ।
यससँगै सवारी लाइसेन्स तथा ब्लुबुक नवीकरणको काम जिल्लाका उद्योग कार्यालयले गर्ने निर्णय पनि भएको छ । यसै त सेवाग्राहीको चाप, त्यसमाथि यातायातको कामसमेत थपिएपछि यतिखेर उद्योग कार्यालयहरु अन्योलमा परेका छन् । झनै यातायातको काम गर्न उद्योग कार्यालयमा कतै पनि पूर्वाधार छैनन् ।
बागमती प्रदेश सरकारले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय एउटैमा गाभेपछि ती अन्तर्गतका सेवा साउनदेखि जिल्लास्थित उद्योग कार्यालयहरुले गर्ने भएका छन् । विशेषगरी यातायात कार्यालय नरहेका प्रदेशका ६ जिल्लामा लाइसेन्स र ब्लुबुक नवीकरणको काम जिल्ला उद्योग कार्यालयले गर्नेछन् । तर, उद्योग कार्यालयमा अहिले पूर्वाधार र जनशक्ति दुवै पर्याप्त छैनन् ।
अहिले पनि समायोजन र दरबन्दीको कुनै पनि पत्र नआएकाले साउन १ देखि कसरी सेवा दिने भनेर अन्योल भएको उद्योग कार्यालयहरुले जनाएका छन् । रामेछाप दोलखा सिन्धुपाल्चोक नुवाकोट रसुवा र धादिङमा यातायात कार्यालय छैनन् । यी जिल्लाका उद्योग कार्यालयले लाइसेन्स र ब्लुबुकका साथै संस्कृति र पर्यटनका काम पनि गर्नेछन् ।
धादिङमा भने १० जना दरबन्दी थप गरिएको पत्र पुगेको छ। तर, पनि यहाँ सेवा दिन पूर्वाधार अभाव अझै छ । तर, बागमती सरकारले भने यो निर्णयबाट यातायात कार्यालयमा हुने सेवाग्राहीको चाप कम हुने सेवा चुस्त हुने दाबी गरेको छ ।
तीनवटा मन्त्रालयअन्तर्गतका निकायका काम एउटै कार्यालयमा थोपरिएपछि नागरिकले कतिको सहज र चुस्त रुपमा सेवा पाउँलान् भन्न संशय कायमै छ । साउन १ देखि मात्र वास्तविकता थाहा होला । त्यसैले अबको अपेक्षा हो–सरकारले जनशक्ति र पूर्वाधार थपेर सहज रुपमा सेवा पाउने अवस्था सिर्जना गरोस् ।