विश्वकप इतिहासमा नकआउट पुग्ने सबैभन्दा सानो मुलुक बन्यो केप भर्डे

असार १३, २०८३ |विनयज्योति सापकोटा
विश्वकप इतिहासमा नकआउट पुग्ने सबैभन्दा सानो मुलुक बन्यो केप भर्डे

काठमाडौं । जारी फिफा विश्वकपमा सबैभन्दा सानो मुलुक केप भर्डेले स्पेन, उरुग्वे र साउदी अरेबिया सम्मिलित समूहमा दोस्रो स्थानमा रहँदै नकआउटको यात्रा तय गरेको छ ।

विश्व मानचित्रमा पश्चिम अफ्रिकी तटनजिकै मध्य आन्ध्रमहासागारमा रहेको यो सानो मुलुकले कसरी फुटबलको इतिहास नै पुनर्लेखन गर्‍यो? 

विश्वकप विषेशमा आज केप भर्डेको चर्चा ।

हामीले केही समय अगाडि स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका भोजिन्हाको चर्चा गरेका थियौं । उनै भोजिन्हाको टोली स्पेन, उरुग्वे र साउदी अरेबियासम्मिलित समूहमा दोस्रो स्थानमा रहँदै नकआउटमा पुग्न सफल भएको छ । पश्चिमी अफ्रिकाको तटनजिकै रहेको एउटा सानो ‍राष्ट्र- केप भर्डे । 

करिब ५ लाख जनसंख्या भएको यो देश विश्वकपमा पुग्नेमध्ये सबैभन्दा साना राष्ट्रमध्ये एक हो। 'ब्लु शार्क्स' उपनामले चिनिने यो टोली ६७औँ स्थानमा रहँदै प्रतियोगितामा प्रवेश गरेको थियो। पोर्चुगलबाट सन् १९७५ मा स्वतन्त्र भएको यो राष्ट्रको फुटबल इतिहास निकै संघर्षपूर्ण छ। 

अफ्रिकी फुटबलको पावरहाउस क्यामरुन जस्तो टोलीलाई पछि पार्दै उनीहरूले विश्वकपको टिकट काटेका थिए। प्रशिक्षक बुबिस्टाको नेतृत्वमा टोलीले एउटा स्पष्ट पहिचान बनायो—मजबुत रक्षापंक्ति । यहाँ एउटा निकै रोचक कथा छ: टोलीका मुख्य रक्षक पिको लोपेसलाई प्रशिक्षकले लिङ्क्डइन मार्फत सन्देश पठाएर टोलीमा बोलाएका थिए। 

लोपेसले त करिब नौ महिनासम्म त्यो सन्देशलाई 'स्प्याम' ठानेर वास्तै गरेका थिएनन्! त्यस स्थानबाट विश्वकपको नकआउटसम्म पुगेको यस टोलीको विश्वकप २०२६ यात्रा पनि रोचक नै छ । विश्वकपको डेब्यू खेलमै उनीहरूले सामना गरे—युरोपेली च्याम्पियन स्पेनको । 

त्यस खेलमा ७४ प्रतिशत समय बल स्पेनकै पक्षमा थियो, स्पेनले २७ पटक गोलको प्रयास पनि गर्‍यो, तर केप भर्डेको डिफेन्सिभ पर्खाल ढलेन। ४० वर्षीय गोलकिपर भोजिन्हा त्यो वास्तविक नायक बने। गोलरहित बराबरीसँगै केप भर्डेले आफ्नो पहिलो विश्वकप अंक बटुल्यो। 

दक्षिण अमेरिकी टोली उरुग्वेविरुद्धको खेलमा केप भर्डेले आफ्नो आक्रामक क्षमता देखायो। केभिन पिनाले सानदार फ्रिकिकमार्फत देशकै पहिलो विश्वकप गोल गरे। खेल २-२ को बराबरीमा सकियो र केप भर्डेले नकआउटको सम्भावना जिवितै राख्यो।

समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध दुवै टोलीका लागि यो 'गर या मर' को स्थिति थियो। केप भर्डेले त्यस खेलमा साउदीविरुद्ध बलियो प्रदर्शन गरे पनि खेल गोलरहित बराबरीमा सकियो, तर यो एक अंक नै उनीहरूलाई इतिहास रच्न पर्याप्त रह्यो ।

जब साउदी अरेबियाविरुद्धको खेलको अन्तिम सिट्ठी बज्यो, केप भर्डेका खेलाडीहरू मैदानमै मोबाइल फोनमा झुम्मिए—उता स्पेन र उरुग्वेको खेल के भयो? जब स्पेनको जित निश्चित भयो, मैदानमा केप भर्डेका खेलाडी हरुको खुसीको सिमा थिएन । 

नहोस् पनि किन? विश्वकपको ९६ वर्षको इतिहासमा नकआउट चरण पुग्ने केप भर्डे सबैभन्दा सानो राष्ट्र बनेको थियो । अटलान्टादेखि ह्युस्टन र राजधानी प्राइयासम्म समर्थकहरू उत्साहित थिए। केप भर्डेको यो सफलता संयोग मात्र थिएन। यस टोलीमा गोलकिपर भोजिन्हाको नेतृत्व, पिको लोपेसको रक्षापंक्ति र कप्तान रायन मेन्डेसको नेतृत्वले उनीहरूलाई अपराजेय बनायो। 

उनीहरूको यो यात्राले विश्व फुटबलको मानचित्रमा अफ्रिकी टापुहरूको अस्तित्वलाई दर्बिलो बनाइदिएको छ। नकआउटमा अब उसले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध कस्तो प्रदर्शन गर्छ त्यो भने हेर्न बाँकी नै छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।