काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समितिको बैठक यसअघि असोज २६ गतेबाट बोलाइएको थियो । त्यस्तै बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ ।
साथै प्रतिनिधि सभाको निर्वाचन र संसद् पुनःस्थापनाको विषयमा छलफल भएको पार्टीका प्रवक्ता प्रकाशशरण महत बताउनु भयो । केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने उहाँले बताउनु भयो । राजनीतिक मुद्दाहरूमा पनि कांग्रेसले स्पष्ट धारणा राख्ने उहाँकाे भनाइ छ ।
कार्य सम्पादन समितिको बैठक आइतबार पनि बस्ने र केन्द्रीय समितिको एजेन्डाबारे छलफल गर्ने उहाँले बताउनु भयो । संसद् विघटन असंवैधानिक भएको उहाँकाे भनाइ छ । निर्वाचनमा जाने कुरा पनि राजनीतिक दृष्टिकोणबाट जायज रहेको बताउँदै सरकारले गम्भीरतापूर्वक काम नगरेको उहाँले आरोप लगाउनु भयो ।
उहाँले गत भदौ २३ र २४ गतेको घटनालाई गहिराइमा गएर छलफल गरेको बताउनु भयो । सुशासन र सामाजिक सञ्जाल खोल्ने कुरामा केन्द्रित आन्दोलन भएपनि दोस्रो दिनको आन्दोलनले जटिलता उत्पन्न गरेको उहाँले बताउनु भयो । यसले राष्ट्रिय र राजनीतिक दलहरूको जीवनमा पनि ठूलो असर पारेको उहाँकाे भनाइ छ ।