काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरूले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उहाँले सो धारणा राख्नुभएको हो । उपसभापति गुरूङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पार्नुभयो ।
कांग्रेसका कार्यकर्ताहरू युवाहरूको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरूको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाइ थियो ।