काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विद्रोहमार्फत् सत्ता फेरबदल गर्न सफल जेन–जी पुस्ताको सहभागिता कसरी हुन्छ ? के जेन–जीहरु दल गठन गरेर चुनावमा जान्छन्, स्वतन्त्र उम्मेदवारी दिन्छन् या मतदाताकै रुपमा मात्र सहभागी हुन्छन् ?
विद्रोहमार्फत् प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव घोषणा गर्न सफल जेन–जीहरु निर्वाचनमा कसरी सहभागी हुन्छन् भन्ने टुंगो लागेको छैन । जेन–जीहरुले पार्टी गठन गरेर गए नयाँ राजनीतिक विकल्पको सुरुवात हुने धेरेको बुझाइ छ । तर समूह–समूहमा बाँडिएका जेन–जीहरु नयाँ राजनीतिक शक्ति निर्माणमा जुट्न सकेको देखिएको छैन । एकथरि अभियन्ताहरु दल खोल्ने नखोल्ने विषयमा अन्योलमै छन् ।
सरकारसँग विभिन्न मुद्दामा संवादमा रहेका फरक समूहमध्येको एउटा भने दल गठनको तयारीमा जुटेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको दल दर्ता गर्ने समयभित्र यो समूहले नयाँ दल गठन गर्ने तयारी गरेको छ । भदौ २३ को आन्दोलनका लागि प्रशासनमा निवेदन दिएका पुरुषोत्तम यादवलगायतका अभियन्ताहरुको समूह राजनीतिक शक्ति गठनमा जुटेको हो । कमिटी निर्माण गरेर संगठन विस्तारमा लागेको यो समूहले दल गठनका लागि आधा काम सकेको बताएको छ । अहिले विधान लेखन गरिरहेको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागलाई एजेन्डा बनाउने भएको छ ।
जेन जी आन्दोलनकारीहरुका समूहमध्ये केहीको स्पष्ट धारणा छ, संविधानकै व्यवस्था र प्रक्रियामा अघि बढ्ने, तोकिएको मितिमा निर्वाचन गराउने, निर्वाचनबाट आएको प्रतिनिधिसभाबाटै नागरिकको आवाजका आधारमा संविधान संशोधन गरेर जाने ।
राष्ट्रपतिसँग वार्ता गर्ने भन्दै टोली नै गठन गरेको समूहले भने अन्तरिम संविधानसम्मको माग गरेको छ । तर यो समूह आफैं एकत्रित हुन सकेको छैन ।
सुदन गुरुङलगायतका समूह आन्दोलनमा भएको दमनमा तत्कालिन सरकारको नेतृत्व गर्नेमाथि कारबाहीको दबाब दिन केन्द्रित छ भने आन्दोलनमा भएका सबै प्रकारका हिंसाको छानबिन र कारबाही उच्चस्तरीय न्यायिक आयोगबाटै हुनुपर्ने अडान राख्ने समूह पनि सक्रिय छ।
जेन–जी पुस्ताकै नेतृत्वमा दल गठन नभई जेन–जीका माग पूरा हुन नसक्ने बुझाइसहित दल गठन हुनु पर्ने पक्षमा रहेकाहरु विज्ञसँगको छलफल, फरक समूहलाई एक ठाउँमा ल्याउने प्रयास र एजेन्डामा एकरुपता ल्याउने प्रयासमा छन् । तर केही जेन-जी प्रतिनिधि राज्यका सबै निकायको पुनर्संरचना गरेपछि मात्र चुनाव गराउनुपर्ने पक्षमा छन् ।
फागुन २१ मा हुने निर्वाचनका लागि मंसिर १ देखि १० गतेभित्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्छ । नयाँ दल खोल्ने भए कात्तिक ३० गतेभित्र निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ । पुराना दलहरुले निर्वाचनमा जाने संकेत दिइसकेका छन् । निर्वाचनलाई लक्षित गर्दै धरान उपमहानरका प्रमुख हर्क साम्पाङ र अधिवक्ता सुरेन्द्र भण्डारीले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगमा दल दर्ताका २ निवेदन परे पनि जेन–जीको परेको छैन । अहिले जेन–जीहरुमा कसको नेतृत्वमा निर्वाचनमा जाने भन्ने अलमल देखिएको छ ।